पोखरा,
नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।
कार्यक्रममा पोखरा पत्रकारिता सम्मानबाट संस्थातर्फ सहारा क्लब पोखरा र व्यक्तिगततर्फ राजबहादुर गुरुङ लाई सम्मान गरिएको छ । सहाराले ‘आहा ! रारा पोखरा गोल्डकप’ मार्फत खेलकुद तथा खेल पर्यटनमा र सहारा एकेडेमीमार्फत समाजसेवामा पुर्याएको योगदानका साथै गुरुङले पत्रकारितामार्फत समाज रूपान्तरणमा खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरिएको माधव बराल ले जानकारी दिए। दुबैलाई नगद ५०/५० हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरी लाई पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही २५ हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको बरालले बताए।
सम्मानित व्यक्तित्वहरूलाई सुरेन्द्रराज पाण्डे, महासंघ कास्कीका अध्यक्ष बराल, पूर्व अध्यक्षहरू, विमला भण्डारी, कुशुमकेशव पराजुली, रमेश पौडेल तथा जानुका अधिकारी लगायतले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै सुरेन्द्रराज पाण्डे ले बलियो सरकार निरंकुश बन्न सक्ने खतरा रहेको औंल्याए। उनले निर्वाचनपछि सत्तापक्ष बलियो र प्रतिपक्ष कमजोर बनेको अवस्थामा सरकार निरंकुश बन्ने सम्भावना रहने बताए। “यस्तो अवस्थामा पत्रकारिता जगतले सशक्त भूमिका खेल्नुपर्छ,” उनले भने।
उनले पत्रकारलाई प्रतिपक्षको रूपमा भूमिका निर्वाह गर्न आग्रह गर्दै सत्ता सन्तुलनमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए। पत्रकारिता कमजोर भएमा सरकार निरंकुश हुन सक्ने उनको धारण थियो।

मुख्यमन्त्री पाण्डेले सरकारले बदलाभाव राख्न नहुने र न्यायपालिकाले पनि संयमता गुमाउन नहुने बताए। उनले सरकारलाई संयमता अपनाउन आग्रह गर्दै स्वतन्त्रता र न्याय जोगाउन सबै क्षेत्र जिम्मेवार हुनुपर्ने धारणा राखे।
उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दमन नहुने बताए। “स्वतन्त्रताको मूल्य मैले आफैंले जेल जीवनमार्फत बुझेको छु,” उनले भने, “मेरो कार्यकालमा कसैको पनि कलम भाँचिने र कापी च्यातिने अवस्था आउँदैन।”

