

पोखरामा लागूऔषध तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार पोखरा महानगरपालिका–३० स्थित पावरहाउस चोकमा पृथ्वीराजमार्ग हुँदै चल्ने सवारीसाधनका चालकलाई जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले गरेको जाँचमा छ जना चालकले लागूऔषध सेवन गरेको र एक जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको जनाएको छ।
नियन्त्रणमा पर्नेमा ग १ ख ९३९९ नम्बरको बसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्री, ग १ ख ६१७१ नम्बरको बसका चालक लमजुङ बेँसीसहर नगरपालिका–२ का ३३ वर्षीय पवन परियार, ग १ ख ३२८२ नम्बरको बसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–६ का ३८ वर्षीय दीपक विक, ग १ ख ५१५३ नम्बरको बसका चालक तनहुँ म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली रहेका छन्।

त्यस्तै, ग १ ख ४२१७ नम्बरको बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार, ग १ ख ८५४४ नम्बरको बसका चालक तनहुँ म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनिष गुरुङ र ग १ ख ००८३ नम्बरको बसका चालक तनहुँ म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपाली पनि नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।


