
स्याङ्जामा हराएको सुनका गरगहना सुरक्षित फिर्ता, भेट्टाउने व्यक्तिलाई सम्मान
पोखरा ,
वैशाख १२ — स्याङ्जामा हराएको सुनका गरगहना प्रहरीले खोजतलास गरी सुरक्षित रूपमा सम्बन्धित धनिलाई बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१० राङखोला निवासी ३२ वर्षीया अनिता शर्मा अधिकारीले स्कूटरमा स्याङ्जाबाट पोखरा जाँदै गर्दा सुनका गरगहना सहितको ब्याग हराएको भन्दै प्रहरीमा सूचना दिएकी थिइन्। उक्त सूचनाको आधारमा खोजी कार्य अघि बढाइएको थियो।

खोजतलासकै क्रममा पुतलीबजार–१ निवासी ५३ वर्षीय लोकबहादुर थापाले मजुवा क्षेत्रमा फेला पारेको उक्त ब्याग मिति २०८३ वैशाख १३ गते प्रहरी कार्यालयमा बुझाएका थिए।
प्रहरीका अनुसार ब्यागभित्र सिक्रि २ तोला, हार १ तोला, बेरूवा २ थान, पोते सहितको सुनको माला १ थान र चन्द्रमा १ थान रहेको थियो। सबै गरगहना सुरक्षित अवस्थामा फेला परेपछि सम्बन्धित धनि अनितालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यसैबीच, ईमान्दारी र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको भन्दै लोकबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्मान गरेको छ। निमित्त कार्यालय प्रमुख प्रसन्नराज चौधरीले थापालाई धन्यवाद दिँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे।
नेपाल प्रहरीले ईमान्दारीपूर्ण कार्यको सधैं उच्च मूल्याङ्कन गर्ने जनाएको छ।
