Saturday, June 6News That Matters

पौडेल वंश महासंघ गण्डकी प्रदेशद्वारा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल सम्मानित

यो समाचार शेयर गर्नुहोस्

पोखरा, जेठ २३ गते ।

पौडेल वंश महासंघ गण्डकी प्रदेशद्वारा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार रमेश पौडेल सम्मानित भएका छन्।

गण्डकी प्रदेशको तेस्रो साधारण सभाको अवसरमा नेपालको पत्रकारिता क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

त्यसैगरी हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय निर्वाचनमा होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित सुनिता पन्त पौडेललाई पनि सम्मान गरिएको छ।

महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले सम्मान प्रदान गर्दै पत्रकार रमेश पौडेल तथा पौडेल वंशको योगदानबारे चर्चा गरेका थिए।

उनले वंशीय एकता, आपसी सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको महासंघले गण्डकी प्रदेशका विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएकोमा खुसी व्यक्त गरे।

सम्मानित व्यक्तित्व रमेश पौडेलले संस्थामा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए।

सभामा नेपाली कांग्रेसकी नेतृ शारदा पौडेलले समुदायको इतिहास, संस्कृति, वंशावली संरक्षण तथा सामाजिक एकतालाई सुदृढ बनाउन महासंघको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

गण्डकी प्रदेश सरकारका महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले वंशावली अभिलेखीकरण, सामाजिक सद्भाव, शिक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले सञ्चालन गरेका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए।

त्यसैगरी महासंघका गण्डकी प्रदेश अध्यक्ष रामजी पौडेलले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लामा पौडेल समुदायको बसोबास रहेको जानकारी दिए।

प्रदेश सचिव धनञ्जय शर्मा पौडेलले प्रदेशभर जिल्ला, महानगर, नगर तथा पालिका समितिहरू गठन गरी संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने कार्य भइरहेको उल्लेख गरे। प्रा. डा. कृष्ण पौडेलले वंशावलीमा एकरूपता हुनुपर्नेमा जोड दिए।

साधारण सभामा आगामी कार्यकालका लागि संगठन सुदृढीकरण, वंशावली संकलन, सामाजिक सेवा तथा युवा सहभागिता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिकृया दिनुहोस