
पोखरा,
पोखराको मौलिक कृषि संस्कृति, पर्यटन प्रवर्द्धन तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्यले यस वर्षको २१औँ असारे रोपाइँ महोत्सव–२०८३ असार १४ गते पोखरा–३० शिशुवा देउराली खोलाछेउमा आयोजना हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कृषि र पर्यटनलाई एकै सूत्रमा बाँध्दै पोखराको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए। उनले पोखरालाई सबै मौसममा घुम्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्ले वि.सं. २०६१ देखि “पोखरा सबै मौसमका लागि” भन्ने नारासहित असारे रोपाइँ महोत्सव सञ्चालन गर्दै आएको छ। परिषद्का अनुसार महोत्सवले अफ–सिजनमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै पोखरालाई वर्षभरि घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले लेखनाथ क्षेत्रमा रहेका खेतीयोग्य जमिन बाँझो नरहने वातावरण निर्माण गर्न तथा कृषकलाई प्रोत्साहन गर्न महोत्सवले सकारात्मक सन्देश दिने बताए। उनले कृषि उत्पादन र पर्यटन प्रवर्द्धनलाई जोड्ने माध्यमका रूपमा कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गरे।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले नेपालको कुल गार्हस्थ्य उत्पादनमा धान खेतीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै खेतीयोग्य जमिन घट्दै गएको अवस्थामा उत्पादनशीलता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कृषि र पर्यटनको समन्वयमार्फत स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने बताए।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले नयाँ पुस्तालाई माटो र कृषि संस्कृतिसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। ग्रामीण जीवनशैली र कृषि परम्पराको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
पोखरा पर्यटन परिषद्का महासचिव तथा कार्यक्रम संयोजक जीवनराज सापकोटाका अनुसार यस वर्षको महोत्सव पोखरा–३० स्थित अम्बिका बुढाथोकीको करिब आठ रोपनी क्षेत्रफलको खेतमा आयोजना गरिनेछ। असार १५ गते पूर्णिमा परेकाले किसानहरूले त्यस दिन हलो नचलाउने परम्परा अनुसार एक दिनअघि अर्थात् असार १४ गते महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए।
महोत्सवमा राष्ट्रिय कलाकार राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसीलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।
त्यस्तै, साउने प्रतियोगिता (हलगोरु दौड), असारे भाका सहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले फुटबल प्रतियोगिता विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड, पत्रकार खुला हिलो दौड, रस्साकस्सी प्रतियोगिता तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ।
पोखरा पर्यटन परिषद्ले महोत्सवलाई भव्य र सफल बनाउन सञ्चारमाध्यम, पर्यटन व्यवसायी, स्थानीयवासी तथा सरोकारवालाको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।
