
पोखरा ।
चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने १५ जना नियन्त्रणमा परेका छन्।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा गरिएको कारबाहीका क्रममा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने, ‘होटल मिलाइदिन्छु’ भन्दै पर्यटकका झोला तान्ने तथा करकाप गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएकामध्ये ६ जना सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै झोला तान्ने, ८ जना अफलाइन पठाओ तथा इन्ड्राइभ चालक र १ जना बोलेरो जिप चालक रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

#पोखरा #कास्की #पर्यटक #पर्यटन #नेपालप्रहरी #स्वीपअप्रेसन #Tourist #Pokhara
