
पोखरा,
बौद्धिक अपाङ्गता भएका एक व्यक्तिलाई नरोकी अघि बढेको सार्वजनिक यातायातको बसलाई प्रहरीले कारवाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार २३ गते पोखरा महानगरपालिका–३२, लेखनाथ क्षेत्रमा एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी गएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भिडियोसमेत पोस्ट गरेका थिए।
घटनाप्रति जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएपछि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पठाइएको थियो।
अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक जरिवाना गरिएको प्रहरीले जनाएको छ। साथै, भविष्यमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिने सहमति गराई चालक तथा सम्बन्धित पक्षलाई सम्झाइबुझाइ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।
