
पोखरा ।
पोखरा महानगरपालिका–२४ कार्कीको तगारामा ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि बाउसो (कोदालो) र सिसाको बोत्तल प्रहार गरी घाइते बनाएको आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १९ गते साँझ करिब ५ः४५ बजे भएको घटनामा घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। चिकित्सकले साँझ ७ः२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार रहेका सोही ठाउँका ३३ वर्षीय जगत दाहाललाई प्रहरीले साँझ ७ः१५ बजे पोखरा–२४ स्थित पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको भनिएको एक थान बाउसो (कोदालो) र एक थान सिसाको बोत्तल बरामद गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।

पक्राउ परेका दाहाललाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

#पोखरा #कास्की #अपराध #प्रहरी #कर्तव्यज्यान #पक्राउ #समाचार #BreakingNews #PokharaNews #KaskiNews

