Friday, March 28News That Matters

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

यो समाचार शेयर गर्नुहोस्

पोखरामा गत वर्ष भएको यति एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ । 

विसं २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा सहित स्मृति स्तम्भको अनावरण गरिएको हो । 

पोखरा महानगरपालिका वडा नं ७ र १४ को सिमाना सेँतीखोच नजिक दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको हो । 

 स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गर्नुभएको हो । 

स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो । त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ । 

स्मृति सभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य सहित जनप्रतिनिधिहरू र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस