
पोखरा ,
भेडाको साँड जुधाईसहित विविध खेलकुद
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म ‘घान्द्रुक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव सञ्चालन हुने रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए।

‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित विगत केही वर्षदेखि निरन्तर रूपमा महोत्सव आयोजना हुँदै आएको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसपटक पनि महोत्सव आयोजना गरिएको बताए।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई होटल तथा होमस्टेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार घान्द्रुकमा एकैदिन करिब २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने होटल तथा होमस्टेहरू उपलब्ध छन्।

रोधीं क्लब कोँड (घान्द्रुक)का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवर्द्धनसँगै कला, संस्कृति र रीतिरिवाजको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। घान्द्रुक ढुङ्गेनी गाउँको नामले पनि परिचित रहेको उल्लेख गर्दै उनले स्थानीय पहिचान प्रवर्द्धनमा महोत्सव प्रभावकारी हुने बताए।
महोत्सव सफल बनाउन पोखरा र घान्द्रुकमा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममार्फत १९ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।
महोत्सवमा खुल्ला वडा स्तरीय पुरुष भलिबल, राष्ट्रव्यापी अन्तरपालिका खुला पुरुष बास्केटबल, घोडा दौड, भेडाको साँड जुधाई, घान्द्रुक चक्रिय पदमार्ग दौड (५.५ किमी), छेलो, महिला तथा पुरुष रस्साकस्सी लगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। आयोजकका अनुसार भेडाको साँड जुधाई, घोडा दौड र भलिबल प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुनेछन्।

राष्ट्रव्यापी अन्तरपालिका खुला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी घोडा दौड प्रतियोगितातर्फ प्रथम हुनेले १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ४० हजार ४ सय ४४ रुपैयाँ, तेस्रो हुनेले २० हजार २ सय २२ रुपैयाँ, चौथो हुनेले ११ हजार रुपैयाँ, पाँचौँ हुनेले ९ हजार रुपैयाँ, छैटौँ हुनेले ७ हजार रुपैयाँ र सातौँ हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
घान्द्रुक चक्रिय पदमार्ग दौड प्रतियोगितामा प्रथम हुनेले १६ हजार ६ सय ६६ रुपैयाँ, दोस्रो हुनेले ७ हजार ४ सय ४४ रुपैयाँ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी छेलो प्रतियोगितामा प्रथम हुनेले १६ हजार ६ सय ६६ रुपैयाँ र दोस्रो हुनेले ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
महिला तथा पुरुष रस्साकस्सी प्रतियोगितातर्फ विजेताले समान ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै भेडाको साँड जुधाई प्रतियोगितामा प्रथम हुनेले ११ हजार रुपैयाँ, दोस्रो हुनेले ९ हजार रुपैयाँ, तेस्रो हुनेले ७ हजार रुपैयाँ, चौथो हुनेले ५ हजार रुपैयाँ र पाँचौँ हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

