Sunday, September 13News That Matters

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न ‘मिडिया कप फुटसल’, सम्पूर्ण तयारी पूरा

यो समाचार शेयर गर्नुहोस्

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बारे जानकारी दिने उद्देश्यले आज पोखरामा प्रेस मिट आयोजना गरिएको छ।

प्रेस मिटमा खेलको उद्देश्यबारे जानकारी दिँदै आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्ने जानकारी दिए। प्रतियोगिता तयारीका क्रममा क्रियाशील पत्रकारहरूको हितलाई प्राथमिकता दिइए पनि हाल उद्देश्य परिवर्तन भएको उनको भनाइ छ।

त्यस्तै, पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै श्रेष्ठले प्रदेशका टिमलाई पोखरामा स्वागत गर्न आतुर रहेको बताए।

‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला खेलको अवधारणामा सञ्चालन गरिनेछ,’ श्रेष्ठले भने।

प्रेस मिटमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था र जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रेस मिटमा दिइएको जानकारीअनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

कल्पका अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशबाहिरबाट समेत विभिन्न जिल्लाका पत्रकारले प्रतियोगितामा सहभागी हुने इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर प्रतियोगितामा सहभागिता जनाउने व्यवस्था गरिएको बताए।

प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश तथा अन्य जिल्लाबाट आउने खेलाडीलाई सहज होस् भन्ने उद्देश्यले आयोजकले विशेष व्यवस्थापन गरेको जनाएको छ।

कास्कीबाहेकका जिल्लाबाट सहभागी हुने टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ। यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले स्वयं व्यहोर्नुपर्नेछ।

जिल्लाबाट सहभागिता जनाउने टोलीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेल संघहरूसँग सहजीकरण र सहयोगका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत पत्राचारसमेत भइसकेको आयोजकले जनाएको छ।

पत्रकारितामा सक्रिय रहे पनि परिचयपत्र नभएका खेलाडीको हकमा सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ।

त्यस्तै, खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ।

प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बीमासमेत गरिने बताउँदै अध्यक्ष श्रेष्ठले सहभागी टोलीलाई बीमाको प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि यसअघि भदौ २० गतेसम्म टिम दर्ता गर्ने समयसीमा तोकिएको थियो। तर, देशको पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गर्दै दर्ताको समय केही दिन तलमाथि हुन सक्ने आयोजकले जनाएको छ।

परिस्थितिका कारण निर्धारित समयभित्र दर्ता गर्न नसकेका इच्छुक टोलीलाई केही दिन थप समय दिन सकिने भए पनि प्रतियोगिता सञ्चालन हुने मिति भने परिवर्तन नहुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे।

‘अहिलेको विषम परिस्थितिलाई हेरेर टिम दर्ताको समय केही दिन तलमाथि हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर प्रतियोगिता असोज २ र ३ गते नै हुन्छ। तीन–चारवटा टोलीले मात्र दर्ता गरे पनि खेल तोकिएकै समयमा सञ्चालन हुन्छ।’

प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानले समेत सहकार्य गरेका छन्। प्रतियोगिताका प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डी हिमालयज रहेका छन्।

त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका वडा नम्बर ३ रहेका छन्।

प्रतियोगिताको प्रवर्द्धकका रूपमा परिचय एडभर्टाइजिङ र लिड्स इभेन्ट्स रहेका छन् भने एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिङ पार्टनरका रूपमा पीएम सोलुसन रहेका छन्।

प्रतियोगिताको मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज तथा हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार रहेको आयोजकले जनाएको छ।

त्यस्तै, प्रेस मिटको भेन्यू पार्टनरमा सफल ब्याङ्केट, अमरसिंह चौरको साथ रहेको छ।

विभिन्न संस्था तथा प्रतिष्ठानको सहकार्यले प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा थप सहजता पुग्ने आयोजकको विश्वास छ।

प्रतिकृया दिनुहोस