पोखरा
पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेका छन् । पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पूर्वरजिष्ट्रार पराजुलीलाई गत पुस ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा र विभिन्न व्यक्तिका नाममा पैसा पठाएको र सो को जानकारी पराजुलीलाई मोवाईलको म्यासेजमा दिएका थिए ।
अनुसन्धानका क्रममा दुवैतर्फ मोवाईल म्यासेजमा भएका कुराकानीहरु पनि प्रहरीले बरामद गर्न सफल भएको छ । १ करोड २५ लाख रुपैयाँ मध्ये २० लाख रुपैयाँ पराजुलीले पछि फिर्ता गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले भर्खरैं पक्राउ गरेको हो । हाल कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत रहेका पराजुलीलार्ई पोखरा पठाउने तयारी भईरहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।