Thursday, April 16News That Matters

२५औँ आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि, १२ टिमको सहभागिता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सहारा क्लब पोखराद्वारा आयोजित क्याराभान गोल्डकप सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर–क्लब आमन्त्रित २५औँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालाको खेल मैदानमा सञ्चालन हुने भएको छ।

खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिता यस वर्ष रजत जयन्ती (सिल्भर जुब्ली) संस्करणका रूपमा मनाइँदैछ।

रजत जयन्तीको अवसरमा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा नेपालसहित विदेशी गरी १२ टिम सहभागी हुने आयोजकले जनाएको छ। सहभागी टिमहरूमा नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, चर्च ब्वाइज युनाइटेड, नेपाल एपीएफ क्लब, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, सहारा क्लब पोखरा, थन्डरबोल्ड नर्थ युनाइटेड (सिक्किम, भारत), गोर्खा इन्टरनेशनल फुटबल क्लब (हङकङ), आभा फुटबल क्लब (उज्बेकिस्तान) तथा भारतको एक टिम रहेका छन्।

हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षणमा आयोजना हुँदैछ। प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाले सहयोग गरेका छन्।

२५औँ संस्करणलाई थप आकर्षक बनाउँदै पोखरा पर्यटन वर्ष २०२५–२६ को प्रवर्द्धन गर्ने उद्देश्यले अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेल सञ्चालन गरिने आयोजक समितिका सदस्य–सचिव गंगाराज पौडेलले जानकारी दिए।

आहा ! रारा पोखरा गोल्ड कप नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ।

प्रतिकृया दिनुहोस