Wednesday, March 11News That Matters

परिवर्तन युवा क्लबद्वारा दोस्रो ‘त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२’ आयोजना गर्दै

यो समाचार शेयर गर्नुहोस्

पोखरा

परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा एशियन कन्क्रिटो प्रस्तुत दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तथा उद्देश्यबारे जानकारी दिन क्लबले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।

युवा क्लबका अध्यक्ष श्री सुदिप बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्चालन सचिव श्री दक्षिणा बरालले गर्नुभएको थियो भने उपाध्यक्ष श्री सरस्वती बरालले स्वागत मन्तव्य राख्नुभयो भने सह-सचिव श्री प्रेरणा ढकालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा मिक्स मार्शल आर्ट्स एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्दोष विक्रम पौडेलको विशेष उपस्थिति रहेको थियो।

“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता यही फागुन ७ देखि ९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुनेछ। खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै आपसी सद्भाव, आत्मीयता र भाइचारा विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

२०७३ सालमा स्थापना भएको परिवर्तन युवा क्लबले पोखरा महानगरपालिका–२२ भित्रका युवालाई समेट्दै खेलकुद, सामाजिक चेतना र सामुदायिक विकासका गतिविधि गर्दै आएको छ। क्लबले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई व्यक्तिको शारीरिक, मानसिक र बौद्धिक विकाससँग जोडिएको महत्वपूर्ण साधनका रूपमा लिएको जनाएको छ।

क्लबका अनुसार प्रतियोगिताले युवामा खेलप्रतिको आकर्षण बढाउने, लुकेका प्रतिभाको पहिचान गर्ने, दक्ष खेलाडी उत्पादन गर्ने तथा प्रतिस्पर्धामार्फत खेलाडी छनोट गरी विभिन्न प्रतियोगितामा सहभागिता गराउने लक्ष्य लिएको छ। खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउँदै सामाजिक एकता कायम गर्नु पनि प्रतियोगिताको प्रमुख उद्देश्य रहेको छ।

प्रतियोगिताअन्तर्गत टिम दर्ता फागुन ६ गते बेलुका ५ बजेसम्म खुला रहनेछ। दर्ता शुल्क छ हजार रुपैयाँ तोकिएको छ भने कार्यक्रम संयोजक सुदिप बरालमार्फत टिम दर्ता गर्न सकिनेछ। प्रतियोगिताको उद्घाटन फागुन ७ गते हुनेछ भने फागुन ९ गते फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद असी हजार पाँच सय पचपन्न रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई नगद चालीस हजार पाँच सय पचपन्न रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिनेछ।

खेल अखिल नेपाल फुटबल संघ (ANFA) का नियमअनुसार सञ्चालन गरिने प्रतियोगिता क्षेत्रीय तथा राष्ट्रिय रेफ्रीद्वारा खेलाइनेछ। प्रत्येक टिममा अधिकतम आठ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ भने राष्ट्रिय खेलाडी तथा ए डिभिजन खेलेका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन नदिइने आयोजकले जनाएको छ।

यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा स्व. पौडेलको आदर्शलाई पछ्याउँदै समाजमा सकारात्मक योगदान पु¥याइरहेका युवालाई सम्मान गर्ने तयारी गरिएको छ। यसका लागि “Tribhuvan Youth Award” घोषणा गरिने क्लबले जानकारी दिएको छ।

त्यसैगरी प्रतियोगिताको अवसरमा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को सहकार्यमा फागुन ७ गते एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा रक्तचाप, मधुमेह, हृदय परीक्षण, सामान्य उपचार तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। वृद्ध, अशक्त तथा अपाङ्ग व्यक्तिहरूका लागि विभिन्न उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ, जुन सुविधा क्लबमार्फत अन्य दिनहरूमा पनि लिन सकिने जनाइएको छ।

प्रतियोगिताका लागि एशियन कन्क्रिटो टाइटल स्पोन्सर रहेको छ भने एसके साउन्ड पोखरा साउन्ड पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर तथा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. स्वास्थ्य सहकार्यमा रहेको छ। साथै नगर युवा परिषद्, स्थानीय सरकार, प्रदेश सरकार तथा अन्य सहयोगी संस्थाको पनि सहकार्य रहेको क्लबले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहयोगी संस्था, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै प्रतियोगिताको कभरेज तथा प्रचार–प्रसारका लागि सम्पूर्ण सञ्चारमाध्यम र खेलकुद पत्रकारलाई सहयोगका लागि अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस