Saturday, May 2News That Matters

पोखरामा ‘मालती मङ्गले’को प्रचारप्रसार, सामाजिक यथार्थ र प्रेमको नयाँ संगम प्रस्तुत गर्ने दाबी

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मङ्गले’ को प्रचारप्रसारका क्रममा निर्माण टिम र कलाकारहरू पोखरा आइपुगेका छन्। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा वैशाख १९ गते मुग्लान रेष्टुरेन्ट मिडटाउनमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मबारे विस्तृत जानकारी दिइएको हो।

कार्यक्रममा फिल्मको कथा, पात्रहरूको गहिराइ र निर्माण पक्षबारे चर्चा गर्दै कलाकारहरूले चलचित्रलाई केवल प्रेमकथा मात्र नभई सामाजिक यथार्थसँग जोडिएको भावनात्मक प्रस्तुतिका रूपमा वर्णन गरे।

प्रस्तुतकर्ता तथा गायक रामकृष्ण ढकालले चलचित्र समाजभित्रका वास्तविक घटना र सम्बन्धका जटिल भावनालाई पर्दामा उतार्ने प्रयास भएको बताए। उनका अनुसार फिल्ममा प्रेमसँगै रहस्य र सस्पेन्सको मिश्रणले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्नेछ।

नायिका वर्षा राउतले ‘मालती’ पात्रलाई आफ्नो अभिनय यात्राकै सबैभन्दा चुनौतीपूर्ण भूमिका बताउँदै यो चरित्रसँग दर्शकले सजिलै भावनात्मक सम्बन्ध बनाउन सक्ने विश्वास व्यक्त गरिन्। उनले पात्रको पीडा, प्रेम र संघर्षले दर्शकलाई गहिरो रूपमा छोने उल्लेख गरिन्।

नायक विजय बरालले ग्रामीण परिवेशमा आधारित कथाले धेरै दर्शकलाई आफ्नै जीवनसँग जोडिएको अनुभूति दिने बताए। उनले पोखरेली दर्शकबाट विशेष माया पाउने अपेक्षा समेत राखेका छन्।

हास्य कलाकारका रूपमा परिचित मेक्सम गौडेल यस पटक फरक भूमिकामा देखिने भएका छन्। उनी विजय बरालको भाइको भूमिकामा प्रस्तुत हुँदै कथामा नयाँ आयाम थप्ने तयारीमा छन्।

त्यस्तै, रचना रिमाल, सलिना बी.के. र आयुष पौडेल लगायत कलाकारहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् भने रामकृष्ण ढकालकै प्रस्तुति तथा लगानी रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको प्रचारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले शनिबार पोखराको लेकसाइडमा विशेष सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्टमार्फत दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मप्रतिको उत्साह अझ बढाउने लक्ष्य लिइएको छ।

पारिवारिक सम्बन्ध, प्रेम, विश्वास र द्वन्द्वको गहिरो तहलाई समेट्ने दाबी गरिएको ‘मालती मङ्गले’ ले दर्शकलाई भावनात्मक यात्रामा लैजाने अपेक्षा निर्माण पक्षले गरेको छ।

प्रतिकृया दिनुहोस