Friday, May 1News That Matters

मजदुर दिवसमा श्रमिक अधिकार सुनिश्चित गर्न ट्रेड युनियनको जोडदार माग

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

१३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश समितिले श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै श्रमिक आन्दोलनबाट प्राप्त अधिकारहरू अझै व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि श्रमिकका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता मौलिक हक अझै सुनिश्चित हुन नसकेको महासंघको भनाइ छ।

महासंघका अध्यक्ष रूद्र गौतमका अनुसार श्रमिकहरूको रोजगारी सुनिश्चित गर्न, सामाजिक सुरक्षा सुदृढ बनाउन तथा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ।

विज्ञप्तीमा सरकारले हालसम्म श्रमिकमैत्री नीति ल्याउन नसकेको आरोप लगाउँदै सुकुमबासी हटाउने नाममा गरिब तथा विपन्न वर्गका घरटहरा भत्काउने कार्यप्रति कडा आपत्ति जनाइएको छ। वैकल्पिक व्यवस्था बिना डोजर प्रयोग गरी नागरिकलाई विस्थापित गर्नु अमानवीय भएको महासंघले उल्लेख गरेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै जनताको दैनिक जीवन कष्टकर बन्दै गएको र रोजगारीका अवसरसमेत घट्दै गएको महासंघको भनाइ छ। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनजीवन धान्न कठिन भएको भन्दै मूल्य नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।

महासंघले घरविहीन नागरिकको पुनर्वासको सुनिश्चितता गर्न, वैकल्पिक व्यवस्था बिना घर भत्काउने कार्य तत्काल रोक्न तथा श्रमिकमैत्री नीति कार्यान्वयन गर्न माग गरेको छ।

यसैबीच, पोखरा बसपार्क क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरी बसेका बासिन्दाहरूलाई व्यवस्थापन गरी योजनाबद्ध रूपमा काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै अन्यथा आन्दोलनमा उत्रिने चेतावनी समेत महासंघले दिएको छ।

प्रतिकृया दिनुहोस