नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न भोटेलाई बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत इजलाश ६ फाटँबाला १ मा न्यायाधीश बसन्तजंग थापाको इजलाशले उक्त आदेश गरेको हो ।
सहकारीका पूर्वसञ्चालक सदस्य गुरूङ र सहकारी सञ्चालक सदस्य भविश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
गत २५ भदौमा पक्राउ पुर्जी जारी भएदेखि गुरूङ र अर्याल फरार थिए । भोटेसँगै गितेन्द्र लगायत व्यक्ति विरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उनीहरू कानुन व्यवसायीसहित मंगलबार अदालतमा हाजिर भएकोमा थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएको थियो । बुधबार धरौटीमा छोड्न अदालतले अस्वीकार गरेसँगै दुवै जना कारागार चलान भएका छन् ।
सूर्यदर्शन सहकारीसम्बद्ध १९ जनाविरुद्ध एक अर्ब ११ करोड बिगो दाबी गरेर अदालतमा मुद्दा लगिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।
