पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी पुन: पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले सुवेदीलाई ठगी आरोपमा आज साँझ पक्राउ गरेको हो ।




झुक्याएर एक महिलाको २ करोड बराबरको घर खाइदिएको आरोप उनीमाथि छ ।आफू ठगीमा परेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।वडाध्यक्ष सुवेदी पोखरास्थित मित्रमिलन सहकारीको रकम अपचलन प्रकरणमा आजै जिल्ला अदालतमा ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सुवेदी आज आफै अदालतमा उपस्थित भएका थिए ।
सुवेदीलाई अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।अदालतले मागेजति धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पुन: पक्राउ गरेको हो ।सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।उनलाई बुधबार अदालत पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





















