

पोखरा
फिर्के सृजनाचोक नजिक आज बिहान एक दर्दनाक सवारी दुर्घटना हुँदा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मृतक पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी मायाको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा निधन भएको हो। दुर्घटनामा उनका छोरा २६ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, बिहान करिब ११ः२५ बजे पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय नजिक दुर्घटना भएको हो। सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ। मृतक माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर उनका छोरा मनोजले चलाएका थिए।

सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग७प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि जीप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त घटनाको भिडीयो:-