Sunday, March 23News That Matters

“राप्रपाद्वारा बृहत् विरोध सभा घोषणा, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलनको आह्वान”

यो समाचार शेयर गर्नुहोस्


पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश समितिले फागुन ९ गते आयोजना गर्न लागेको बृहत् विरोध सभाको पूर्वसन्ध्यामा पोखरामा मोटरसाइकल र्याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ।

र्याली पृथ्वीचोकबाट सुरु भएर पोखराका मुख्य सडक परिक्रमा गर्दै चिप्लेढुंगामा पुगेर समापन गरिएको थियो। राप्रपाका कार्यकर्ता एवं समर्थकहरूले राष्ट्रिय झण्डा र पार्टीका झण्डा फहराउँदै ‘संवैधानिक राजसंस्था पुनःस्थापना गर’, ‘भ्रष्टाचारमुक्त शासन व्यवस्था चाहिन्छ’, ‘नेपालको पहिचान मेट्न दिँदैनौं’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।


र्यालीमा सहभागी भएका कार्यकर्ताहरूले भ्रष्टाचार, कुशासन, र विदेशी प्रभावबाट नेपाललाई जोगाउन राप्रपाले अब निर्णायक संघर्ष गर्ने बताए। प्रदेश अध्यक्ष पञ्चराम गुरुङले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई संकटमा पार्दै लगेको आरोप लगाउँदै भने, “अबको लडाइँ भ्रष्टाचार, अराजकता, र विसंगतिको अन्त्यका लागि हो। पोखराबाट देशव्यापी परिवर्तनको सन्देश जानेछ।”

राप्रपाले फागुन ९ गते पोखरामा हुने बृहत् विरोध सभामा देशभरका कार्यकर्ताहरूको व्यापक सहभागिता रहने दाबी गरेको छ। पार्टीका शीर्ष नेताहरू राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै हालको राजनीतिक अवस्थाप्रति कडा असन्तोष व्यक्त गरे। पोखरामा आन्दोलनको जानकारी दिने उद्धेसयका साथ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेपाल अहिले असफल राष्ट्रको बाटोतर्फ उन्मुख छ। भ्रष्टाचार संस्थागत भइसकेको छ, राजनीतिक प्रणाली असफल भएको छ, र नेपाली जनताको भावना कुल्चिएको छ। अब हामी चुप लागेर बस्दैनौं। यो आन्दोलन राष्ट्रको अस्तित्व बचाउने लडाइँ हो।”

गुरुङका अनुसार राप्रपाले ‘नवीन समझदारी’ मार्फत देशलाई निकास दिन चाहन्छ, जसका लागि भ्रष्टाचारमुक्त शासन, स्थिर राजनीति, र संवैधानिक राजसंस्थाको पुनःस्थापना अनिवार्य छ। उनले सबै राष्ट्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै भने, “यो केवल राप्रपाको आन्दोलन मात्र होइन, देश बचाउने अभियान हो। अब भ्रष्टाचार र कुशासनविरुद्ध सडकमै निर्णायक लडाइँ लड्ने समय आएको छ।”अध्यक्ष गुरुङले सम्पूर्ण राष्ट्रवादी जनसमुदायलाई फागुन ९ गतेको विरोध सभामा सहभागी हुन हार्दिक आह्वान गरेका छन्। “यो केवल सभा होइन, नेपाल र नेपालीको भविष्यको लडाइँ हो। समयमै सचेत नबने देश जोगाउन नसक्ने अवस्थामा पुग्नेछ। त्यसैले, अबको आन्दोलन निर्णायक हुनेछ।”

भिडीयो :-

पार्टीका अनुसार सभामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारदेखि गण्डकी प्रदेशका अन्य अनियमिततासम्मका विषयलाई उठाइने छ। साथै, संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि ‘नवीन समझदारी’ आवश्यक रहेको भन्दै राप्रपाले नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने तयारी गरेको छ।

यो भिडीयो पनी हेर्नुहोला :-

प्रतिकृया दिनुहोस