
पोखरा



“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने नाराका साथ पोखरा महानगरपालिका-२२, ठुलिविडीस्थित परिवर्तन युवा क्लबको आयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म त्रिभुवन स्मृति कप २०८१ फाइब-ए-साइड फुटबल प्रतियोगिता आयोजना हुँदैछ। पोखरा हटलाइन राष्ट्रिय दैनिकको सह-आयोजनामा हुन लागेको उक्त प्रतियोगिताले खेलकुदको विकासका साथै युवाहरूलाई समाज निर्माणमा अग्रसर गराउने लक्ष्य लिएको छ।

पोखरा प्राकृतिक सौन्दर्यको धनी शहर मात्र नभई खेलकुद र युवा सशक्तीकरणको केन्द्रबिन्दु पनि हो। खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै समाजमा एकता कायम गर्न मद्दत गर्छ। यसै उद्देश्यले परिवर्तन युवा क्लबले त्रिभुवन स्मृति कपको आयोजना गर्न लागेको हो, जसले प्रतिभावान खेलाडीहरूलाई पहिचान दिलाउने अवसर प्रदान गर्नेछ।
परिवर्तन युवा क्लब २०७३ सालमा स्थापित भएको सामाजिक संस्था हो, जसले खेलकुद प्रवर्द्धन, युवाहरूलाई सामाजिक कार्यमा संलग्न गराउने, लागुपदार्थ दुरुपयोग तथा महिला हिंसाविरुद्ध जनचेतना फैलाउने, खेलाडी उत्पादन गर्ने र संस्कृतिको संरक्षण गर्ने जस्ता कार्यमा विशेष योगदान पुर्याइरहेको छ।

प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने, दक्ष खेलाडी उत्पादन गर्ने, प्रतिस्पर्धात्मक खेलाडी छनोट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर प्रदान गर्ने तथा खेलकुदको माध्यमबाट सामाजिक एकता र सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
फागुन १० मा पत्रकार भेटघाट आयोजना गरिने कुरा कार्यक्रम संयोजकले बताएका छन्। फागुन १४ सम्म टिम दर्ता हुने जानकारी दिँदै उनले इच्छुक टिमहरूले कार्यक्रम संयोजक सुदिप बराल (९८२९१६८५७८) सँग सम्पर्क गर्न सक्ने बताए। दर्ता शुल्क रु. ५००० निर्धारण गरिएको छ। फागुन १६ मा उद्घाटन तथा प्रारम्भिक खेलहरू सञ्चालन हुने जानकारी गराइएको छ। फागुन १७ मा प्रतिस्पर्धात्मक खेलहरू खेलाइने कुरा संयोजकले बताए भने, फागुन १८ मा फाइनल खेल तथा पुरस्कार वितरण समारोह गरिने जानकारी दिएका छन्।

प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद रु. ५५,५५५/- सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी आयोजकले दिएका छन्। द्वितीय स्थान प्राप्त गर्ने टिमलाई नगद रु. २५,५५५/- सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कुरा संयोजकले बताएका छन्। साथै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विशेष विधागत पुरस्कार प्रदान गरिने जानकारी गराइएको छ।
खेल अखिल नेपाल फुटबल संघ एन्फाको नियमअनुसार खेलाइने कुरा आयोजकले बताएका छन्। क्षेत्रीय तथा राष्ट्रिय स्तरका रेफ्रीहरूले खेल सञ्चालन गर्ने जानकारी दिइएको छ। प्रत्येक टिममा अधिकतम ८ जना खेलाडी हुनुपर्ने आयोजकले बताएका छन्। आयोजकले तोकेको समयमा टिम उपस्थित नभएमा स्वतः वाकओभर हुने जानकारी गराइएको छ। खेलसम्बन्धी विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने कुरा संयोजकले बताए। कुनै आपत्ति भएमा नगद रु. २,०००/- सहित आयोजक समक्ष उजुरी दिनुपर्ने जानकारी गराइएको छ। खेल कुनै कारणवश रोकिएमा भोलिपल्ट पुनः खेलाइने कुरा संयोजकले बताएका छन्।

कार्यक्रम संयोजक सुदिप बरालले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोगका लागि सबैलाई अनुरोध गरेका छन्। क्लबका उपाध्यक्ष विवेक बरालले स्वागत मन्तव्य राखेका थिए भने, अध्यक्ष कमल बरालले कार्यक्रमको नेतृत्व गरेका थिए। वरिष्ठ समाजसेवी शोभाकर बरालको विशेष उपस्थितिमा जिल्ला समन्वय अधिकारी नवराज बरालले खेलकुदले युवाहरूको क्षमता वृद्धि गर्न मात्र नभई अनुशासन सिकाउने र नयाँ अवसर सिर्जना गर्ने बताए। क्लबका संस्थापक सल्लाहकार राजेन्द्र बरालले त्रिभुवन पौडेलजस्ता होनहार पत्रकार हाम्रो गाउँको हुनु गर्वको विषय भएको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए।
युवाहरूलाई खेलकुदमार्फत सशक्त बनाउन आयोजित यो प्रतियोगिता पोखराका युवा खेलाडीहरूका लागि महत्त्वपूर्ण अवसर सावित हुने आयोजकको अपेक्षा रहेको छ ।
यो भिडीयो पनी हेर्नुहोश :-





















