

पोखरा
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा अग्रज फोटो पत्रकार राम गुरुङ निर्वाचित भएका छन्। संघको नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, तथा सदस्यहरूमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्। रिक्त सहसचिव र तीन सदस्यहरू पछि मनोनयन गर्ने निर्णय निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए।
अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले गरेका थिए। उनले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा भएको बताउँदै समाचारका लागि फोटो अनिवार्य रहने उल्लेख गरे। ‘समाचार लेखियो, समयसँगै पुरानो हुन सक्छ, तर फोटो कहिल्यै पुरानो हुँदैन,’ उनले भने।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारको जति महत्व छ, त्योभन्दा बढी फोटो पत्रकारको भूमिका रहने बताए। फोटोबिना समाचार अपूर्ण हुने भन्दै महासंघ र फोटो पत्रकार संघबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले केन्द्रमा फोटो पत्रकार संघ टुटफुट भए पनि कास्कीबाट एकताको सन्देश दिनुपर्ने बताइन्।
संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलका अनुसार २०६२/०६३ को जनआन्दोलनका क्रममा स्थापित संस्थाले विभिन्न समय फोटो प्रदर्शनीसहितका रचनात्मक कार्यक्रम गर्दै आएको छ। निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले जनआन्दोलनका बेला तस्बिर खिच्ने क्रममा भोगेका चुनौतीका कारण संघ गठन गरिएको स्मरण गरे।

यसैबीच, फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले एनपिजेए कास्कीमा गाभिएको घोषणा गरेको छ। महासंघका अध्यक्ष एकराज गिरीले पोखरा जस्तो सानो शहरमा अलग-अलग संस्था आवश्यक नरहेको बताउँदै एकताको सन्देश दिन संस्थाहरू गाभिएको जानकारी दिए।
यो भिडियो पनि हेर्नूहोस :-