Tuesday, February 10News That Matters

स्थानीयको समस्या लाई समाधान गर्ने सर्तमाबिहिवार देखि फोहोर फाल्न दिने सहमति

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पाेखरा मा छरपरष्ट जताततै थुप्रिएको फोहोर पोखरा महानगर पालिकाले अन्तत: फेरि बिहिवार उठाउने भएको छ।
महानगरपालिकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ घाेषणा गरेकाे थियाे ।
तर भ्रमण वर्ष मनाइरहँदा यतिबेला पाेखराका चाेक-चाेकमा फाेहाेरका डङ्गुर थुप्रिएका छन् । जसले गर्दा पर्यटनको राजधानी पाेखरा कुरुप मात्र हाेइन दुर्गन्धित बनेकाे छ ।

हुन त महानगरकाे लागि याे नयाँ विषय पनि हाेइन यसभन्दा अगाडि पनि यसरी नै पोखराका सडकभरि समयमा फाेहाेर नउठ्दा छरिएको अवस्था थियाे ।

ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाकाे अवरोधका कारण पोखरामा चार दिनदेखि फाेहोर उठ्न नसकेको हाे। जसले गर्दा पाेखराकाे अति व्यस्त बजारहरु चिप्लेढङ्गा, महेन्द्रपुल, न्यूराेड, सृजनाचाेक, नयाँबजार लगायतका ठाउँहरुमा फाेहाेरकाे दुर्गन्धले मुख छाेप्दै आवातजावत गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर स्वास्थ्यमा पनि समस्या उत्पन्न हुन सक्ने सम्भावना त्यति नै छ।

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले गर्दा महानगरले पोखरा -१४, बाच्छेबुडुवामा रहेकाे ल्याडफिल्ड साइटलाई लामेआहालमा सारेकाे थियाे ।

महानगरले साे क्षेत्रमा अस्थायी समाधान भन्दै ६ महिनाका लागि मात्र प्रयाेग गर्ने भनेकाे थियाे । तर ६ महिनाको लागि भनेर प्रयाेग गरेकाे लामेआहालकाे ल्याण्डफिल्ड साइट साँढे २ वर्षदेखि त्यही छ ।

यसबीचमा त्यहाँका स्थानीयसँग महानगरले फाेहार फाल्नका लागि विभिन्न बुदाँमा सम्झौता गरेकाे थियाे । तर महानगरकाे कम्जाेर व्यवस्थापन र फितलाे कार्य शैलीले गर्दा पटकपटक त्यहाँका स्थानीयले फाेहाेर फाल्न अवराेध गर्दै आइरहेका थिए।

विशेषगरी स्थानीयले ल्याण्डफिल साइटमा पूर्वाधार नबनाएको, सडकमा जथाभाबी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पटकपटक अवरोध गर्दै आइरहेका छन् ।

यसभन्दा अगाडि पनि पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोह शुभारम्भकाे पूर्व सन्ध्यामा वडा नम्बर ३२ का अध्यक्ष अक्कल बहादुर कार्किको संयोजकमा तत्कालीन समस्या समाधान गर्नका लागि १५ दिने समयसिमा थपिएको थियो ।

तर भ्रमण वर्ष २०२५ समारोह उद्घाटनकै क्रममा बेलुन पड्किदा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका थिए । त्यस समय स्थानीयसँग अध्यक्ष कार्किको अनुरोधमा उक्त दु:खद घटनालाई मध्यनजर गरि फागुन २४ गतेसम्मलाई फाेहार फाल्न दिने सहमति भएको थियो ।

तर चैत २४ गतेसम्म आइपुग्दा पनि महानगरले कुनै चासो नदेखाएपछि संघर्ष समितिले फेरि फोहोर फाल्न अवराेध गरेपछि पोखराका सडकमा फोहोरको थुप्रो लाग्न शुरु भएको हाे । जसले गर्दा महानगर प्रमुखकाे आलाेचना समेत हुँदै आएकाे छ ।

यही आलाेचनाका कारण बुधबार महानगरले संघर्ष समिति, विभिन्न राजनीति दलका नेताहरु, टोल विकास समिति, आमा समूह लगायत स्थानिय बासिन्दाको उपस्थितमा वडा अध्यक्ष कार्कीकाे संयोजकमा छलफल गरेकाे छ ।

उक्त छलफलबाट स्थानीयको स्वास्थ्य तथा वातावरणिय समस्या समाधान गर्ने निशुल्क स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमा गरिदिने लगायत माग पूरा गर्ने र स्थानियका समस्या लाई छिटोभन्दा छिटो सम्बोधन गर्ने सर्तमा विहिबारबाट फोहोर फाल्न दिने सहमति भएको अध्यक्ष कार्किले जानकारी दिएका छन् ।

ती फाेहाेरका थुप्राे विहिबारबाट उठ्ने भनेसँगै पाेखरेलीहरुलाई अस्थायि खुशी प्राप्त भएको छ।

यसो त पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ ।
ती फोहोरहरुलाई ल्याण्डफिल्ड साइट पुर्‍याउन महानगरले ८ वटा कम्पनीलाई जिम्मा दिएको छ । उनीहरूले तालिका बनाएर फोहोर संकलन गर्दै आइरहेका छन् भने महानगर पालिका गम्भीर नभएकै कारण पोखरामा जताततै फोहोर थुप्रिने गरेको महानगरवासिले वताएका छन्।

प्रतिकृया दिनुहोस