Saturday, November 8News That Matters

पोखरामा सुनचाँदी व्यवसायीसँग ५० लाख रुपैयाँ माग्दै धम्की दिने तीन जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका–४ मा रहेको एक सुनचाँदी पसलका सञ्चालकसँग ५० लाख रुपैयाँ माग्दै धम्की दिने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सोही पसलमा कार्यरत एक महिलाले पसल सञ्चालकमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै ५० लाख रुपैयाँ माग्ने योजनासहित जिल्ला मोरङ र संखुवासभामा बसोबास गर्ने आफ्ना दुई जना पुरुष साथीहरूलाई पोखरा बोलाएकी थिइन्। ती तीन जनाले मिलेर पसल सञ्चालककी श्रीमतीलाई पोखरा–६, लेकसाइडस्थित एक होटलमा बोलाई एक सातासम्म बार्गेनिङ गर्दै “जिन्दगीभर पुग्ने धनसम्पत्ति, बस्ने घर र व्यवसायको व्यवस्था गरिदिनु, नत्र तिम्रो श्रीमानमाथि विभिन्न मुद्दा हालेर सडाइदिन्छौं” भन्दै धम्की दिँदै ५० लाख रुपैयाँ माग गरेका थिए।

प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ती तीनैजनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

पक्राउ परेकामध्ये एक जना पोखरा महानगरपालिका–१५, टुटुङ्गा निवासी २७ वर्षीया मरियम राई हुन्। अन्य दुई जना मोरङ, विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभा, सभापोखरी गाउँपालिका–२ निवासी ४० वर्षीय पुरुष रहेका छन्।

उनीहरूको साथबाट तीन थान मोबाइल, बार्गेनिङ गरिएको अडियोसहितको पेन्ड्राइभ र एक्सर्टसनसँग सम्बन्धित विभिन्न कागजातहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रवक्ता हरिबहादुर बस्नेतले दिएका छन्। उनका अनुसार, यस घटनालाई गम्भीरतापूर्वक लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस