पोखरा — बागलुङबाट सुरु भई पोखरा हुँदै गण्डकी प्रदेशसम्म यात्रा तय गरेको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ। आइतबार पोखरामा विशेष समारोहको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले ढोरपाटन दैनिक बागलुङमा जन्मिएर पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको पहिचानसम्म पुग्नु गर्वको कुरा भएको बताए। “बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा गर्ने हिम्मत राखेको ढोरपाटन अझ स्थापित हुनेछ,” भन्दै उनले सञ्चारमाध्यमको भूमिका अझ सबल हुने विश्वास व्यक्त गरे।

आचार्यले व्यक्तिगत प्रसङ्ग स्मरण गर्दै भने, “म पनि कुनैबेला सानो रूपमा सञ्चार क्षेत्रमा जोडिएको थिएँ। आफ्ना बाबाको सच्यकोषको पैसाले खोलेको र आफ्नो लगानी सकिँदा मैले पत्रकारिताको वास्तविक मर्म बुझ्ने मौका पाएँ।” उनले प्रविधि बदलिँदै गए पनि पत्रपत्रिकाको महत्व कहिल्यै नघट्ने स्पष्ट पारे।

गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले अब पत्रपत्रिका नवीकरण पोखरामै हुने भएकाले पत्रकारहरूलाई काठमाडौं धाउन नपर्ने जानकारी दिइन्। उनले सञ्चारकर्मीबीच सहकार्य र आपसी सम्मान अनिवार्य रहेको भन्दै प्रेस स्वतन्त्रताका लागि एकताको आवश्यकता जोड दिइन्।

ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, व्युरो प्रमुख बासुदेव मिश्रको सञ्चालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागत तथा सुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
२०५९ साल भदौ १ गते स्थापना भएको ढोरपाटन दैनिकले राजतन्त्रकालमा ग्रामीण क्षेत्रको सूचना प्रवाह गर्दै आएको थियो। संघीयतापछि बागलुङबाट पोखरामा विस्तार भई गण्डकी प्रदेशस्तरीय बनेको जानकारी प्रधान सम्पादक गौतमले दिएका छन्। उनले आगामी दिनमा पनि पत्रिकालाई अझ सबल बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाए।
