Tuesday, February 10News That Matters

पोखरामा कलाकार विश्व केसीको ‘स्यान्ट्याक्स अफ अब्स्ट्र्याक्सन – डिस्प्ले अफ अब्स्ट्र्याक्ट’ शीर्षक कलाकृति प्रदर्शनी

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

नयाँबजारस्थित आर्ट ग्यालरीमा कलाकार विश्व केसीले तयार पारेका २९ वटा अमूर्त (Abstract) कलाकृति तीन दिनका लागि “Syntax of Abstraction – Display of Abstract” शीर्षकअन्तर्गत प्रदर्शनी कार्यक्रममार्फत राखिएका छन्। कलाकारले पोखरामा पहिलो पटक एकल अमूर्त कला प्रदर्शनी गरेर दर्शक तथा कलाप्रेमीबीच प्रतिक्रिया लिन खोजेको बताए।

कार्यक्रममा स्थानीय कला प्रेमी, वरिष्ठ तथा सिर्जनशील कलाकारहरूको उपस्थिति रहेको थियो। वरिष्ठ चित्रकार तथा कार्टुनिस्ट दुर्गा बरालले केसीका कलाकृतिहरू प्रारम्भिक कामभन्दा अझ परिष्कृत र सशक्त बन्दै गएको टिप्पणी गर्दै, निरन्तरता पाएमा नेपाली कलामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।  बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलले केसी कलामा दौडिरहेका व्यक्तित्व भएको बताउँदै, लक्ष्यमा पुग्न निरन्तरता र लगनलाई अझ मजबुत बनाउन सुझाव दिए।

रेस्टुरेन्ट व्यवसायी तथा नेवारी भोजका सञ्चालक रविन्द्र कायस्थले प्रदर्शनी अवलोकनपछि सबै चित्रले आफूलाई छोएको बताउँदै, यस्तो कला हेर्दा छुट्टै आनन्द मिल्ने प्रतिक्रिया दिए। कलाकार तथा प्राज्ञ रमेश श्रेष्ठले लामो समयपछि पोखरामा यस्ता एकल प्रदर्शनी देख्न पाएकोमा खुशी व्यक्त गर्दै, निरन्तर यस्ता कार्यक्रम भए अझ प्रभावकारी हुने धारणा राखे।

सिर्जनशील कलाकार समूहका अध्यक्ष डी.बी. गुरुङले केही समयपछि पुनः यस्ता कार्यक्रम हुन थालेकोमा सन्तोष व्यक्त गर्दै, एकल प्रदर्शनीले कलामा नयाँ आयाम थपेको बताए। उनले पोखरामा मात्र नभई अन्य स्थानका कलाप्रेमी, विद्यार्थी र पत्रकारलाई समेत प्रदर्शनी अवलोकन गर्न अनुरोध गरे।

नेपालमा अमूर्त कलाप्रतिको चासो बढ्दै गएको सन्दर्भमा आयोजित यो प्रदर्शनीले पोखराको कला–संस्कृतिमा नयाँ ऊर्जा थपेको देखिन्छ ।

— प्रकाश अधिकारी, पोखरा

प्रतिकृया दिनुहोस