Saturday, November 8News That Matters

चर्को आवाज गरि पड्काउदै मोटरसाइकल गुडाउनेहरू प्रहरी खोरमा, पटका पडकायो वा बेचेको पाइएमा हदसम्मको कारवाही गरिने

यो समाचार शेयर गर्नुहोस्

पोखरा ,

बुधबार २९/ पोखरा, कास्की — प्रहरीले Operation 365 संचालन गरेसँगै चालकसहित दर्जनौँ मोटरसाइकल नियन्त्रणमा लिएको छ।
कास्की प्रहरीले यो अपरेसन अन्तरगत ३६५ दिन नियमित चेकजाँच गर्ने अभियानको रूपमा सुरु गरेको हो।

मोटरसाइकलको स्वरूप परिवर्तन गराई ठुलो आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने र शान्ति–सुव्यवस्था खलल पार्ने गतिविधि बढिरहेको भन्ने व्यापक जनगुनासो आएपछि, सोही आधारमा २०८२।०६।२७ गते साँझदेखि जिल्ला प्रहरी कार्यालय कास्कीले “Operation 365” संचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले अपरेसन 365 सुरु गरेसँगै जिल्ला मातहतबाट समेत एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्दै हिँड्ने, मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाजमा सवारी चलाउने, शान्ति–सुव्यवस्थामा खलल पार्ने र प्रहरीसँग झै–झगडा गर्ने चालक र सवारी साधन नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाएको छ।

सोही अपरेसन अभियान सुरु भएलगत्तै, कास्की प्रहरीले २७ गते सोमबार साँझदेखि मङ्गलवारसम्म पोखराका विभिन्न स्थानबाट चालकसहित करिब तीन दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ।

कास्की प्रहरीले बताएअनुसार, पड्काएर आतङ्कित पार्ने शैलीमा चलाउने चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय र वप्रका बैदाम परिसरमा राखिएको छ। मोटरसाइकल र चालकलाई सामाजिक खलल पुर्याउने अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको छ। यसरी चर्को आवाजमा मोटरसाइकल चलाउने चालकसहित, स्वरूप परिवर्तन गरी चलाउने चालक, साथै मापसे–लापसे गरेर चलाइएका सवारीसाधनहरू समेत नियन्त्रणमा लिइएका छन्।

चर्को आवाजबाट आतङ्कित भएपछि सर्वसाधारणले दिनहुँ रातभर कानकै जाली फुट्ने र राति निद्रामा झस्किनुपर्ने समस्या अनुभव गर्दै आएका थिए। लामो समयपछि कास्की प्रहरीले संचालन गरेको Operation 365 ले आम नगरवासीलाई सुखको सास फेर्न अवसर दिएको छ। कतिपयले यो अपरेसनलाई स्वागत समेत गरेका छन्।

कास्की प्रहरीले सूचना मार्फत सवारीधनीहरूलाई सवारी साधन मोडिफाई नगरी पूर्ववत् असली स्वरूपमा चलाउन अनुरोध गरेको छ। मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रेकन्डिसन हाउस संचालकहरूलाई पनि उक्त कार्य नगर्न आग्रह गरिएको छ। यदि कसैले अटेरी गरेर सवारी साधन मोडिफाई गरी चलायो भने, सवारीधनी र उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई समेत कानूनी कारवाही हुने कास्की प्रहरीले जनाएको छ।

पटका बेच्ने वा पड्काउनेलाई हदसम्मको कारवाही गरिने

यसैगरी, कास्की प्रहरीले नजिकिँदै गरेको तिहारलाई मध्य नजर गर्दै पोखरामा पटका निषेध गर्न लागेको छ। पोखराको छोरेपाटन, डाँडाकोनाक, कोत्रे लगायत नाकाहरूमा बाहिरबाट भित्रिने सवारीसाधनमा कडाइका साथ चेकजाँच गरिने भएको छ। यदि कसैले पटका पडकायो वा बेचेको पाइएमा, हदसम्मको कारवाही गरिने कास्की प्रहरी प्रमुख नविन कार्किले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस