Friday, January 16News That Matters

म्यानपावर कार्यालयभित्रै पत्रकारमाथि अभद्र व्यवहार

यो समाचार शेयर गर्नुहोस्

पोखरा

अमित्य ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रालि पोखरा शाखामा समाचारका लागि पुगेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति विभिन्न पत्रकार संगठनहरूले एकपछि अर्को गर्दै कडा प्रतिक्रिया जनाएका छन्। नेपाल प्रेस युनियन कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिपछि अब नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले पनि विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ।

मंसिर ४ गते ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीले ‘अमित्य ग्लोबल म्यानपावरमा त्यो २ घण्टा’ शीर्षकको रिपोर्टर डायरी मार्फत घटनाको विवरण सार्वजनिक गरेपछि तीनै संगठनले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका कार्यसमिति सदस्य तथा ढोरपाटन दैनिकका संवाददाता विजय नेपालीसँगै पत्रकार सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विश्वकर्मामाथि गरिएको व्यवहारप्रति मञ्चले गम्भीर आपत्ति जनाएको छ।

समाचारका लागि पीडितसँगै आरोपित पक्षको प्रतिक्रिया लिन पुगेका उनीहरूलाई म्यानपावरका प्रतिनिधिहरूले थुनेर राखेको, धरपकड गरेको, फोटो–भिडियो डिलिट गर्न बाध्य पारेको लगायतका गतिविधि ‘कुनै हालतमा क्षम्य नहुने’ मञ्चले स्पष्ट गरेको छ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरले हस्ताक्षरित विज्ञप्तीमा पत्रकारहरूले सन्तुलित समाचारका लागि आरोपित पक्षको भनाइ लिन कार्यालयमा प्रवेश गरेको उल्लेख गरिएको छ।
तर निष्पक्ष पत्रकारितालाई सहयोग गर्नुको सट्टा उल्टै गलत कामको साक्षी बस्न लगाउने, वार्ता–संवादबाट समाधान खोज्नुपर्ने ठाउँमा धम्क्याएर नियन्त्रणमा राख्ने काम ‘अभद्र व्यवहार र दुरुपयोगको पराकाष्ठा’ भएको मञ्चको भनाइ छ।

नेपाल प्रेस युनियन कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र अब खेलकुद पत्रकार मञ्च—तीनै संगठनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
तीनै संस्थाले पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण बनाउन राज्यका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस