Friday, January 16News That Matters

ध्वनि प्रदूषण गर्दै प्रहरीसँग झैँझगडा गर्ने चार जना मोटरसाइकलसहित पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा


कास्की प्रहरीले ध्वनि प्रदूषण हुने गरी मोडिफाइ गरिएको मोटरसाइकल चलाउने, सडकमा होहल्ला मच्चाउने र प्रहरी चेकजाँचका क्रममा विवाद तथा झैँझगडा गर्ने चार जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले मंसिर १८ गते पोखराका विभिन्न स्थानमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पोखरा–१४ का मनिष के.सी., पोखरा–८ का कृष्ण मल्ल, पोखरा–२४ का मनोज नेपाली र पोखरा–१७ का विशेष पुर्जा रहेका छन्। उनीहरूले चलाइरहेका सबै मोटरसाइकलहरू मोडिफाइ गरिएका, अत्यधिक आवाज निकाल्ने र सार्वजनिक स्थानमा असजिलो वातावरण सिर्जना गर्ने अवस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार, चेकजाँचका क्रममा रोकेपछि उनीहरूले प्रहरीसँग असहयोग गर्दै विवाद गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको “Operation 365” अन्तर्गत हालसम्म १८९ वटा यस्ता मोडिफाइ मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाहीपछि छाडिएको छ। ध्वनि प्रदूषण तथा सार्वजनिक सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधि रोक्न कास्की प्रहरीले निगरानी थप कडा बनाएको छ।


प्रहरीले गाउँ–सहरमा साइलेंसर परिवर्तन गरी होहल्ला गर्दै हिँड्ने, साइलेंसर बाट आगोको झिल्का निकाल्दै समाजमा त्रास फैलाउने मोटरसाइकल देखिएमा तुरुन्त प्रहरी १००, ट्राफिक प्रहरी १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
सो सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता सुरक्षित राखिने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा निमित्त सुचना अधिकारी गणेश पाण्डेले सार्वजनिक सुरक्षाका लागि नागरिकको सहकार्य अत्यन्त आवश्यक हुने बताउँदै ,यस्ता गतिविधि कहि कतै देखेमा तुरुन्त खबर गर्न समेत आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस