पोखरा,
पोखरा–२२ ठुलिबिडीस्थित परिवर्तन युवा क्लबले फाइभ–ए–साइड दोस्रो त्रिभुवन स्मृति कप २०८२ फागुन ७ देखि ९ गतेसम्म सिम्लेपाखा खेलमैदानमा आयोजना हुने तयारी गर्दै आएको क्लबका अध्यक्ष सुदिप बरालले जानकारी दिनुभयो।
स्व. त्रिभुवन पौडेल — नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार — को सम्झनामा आयोजना हुने यो प्रतियोगिता गत वर्षको सफलतापछि यसपटक अझै आकर्षक र व्यवस्थित बनाउने हेतुले तयारी गरीएको अध्यक्ष बरालले बताउनुभयो।
उहाँका अनुसार यस वर्ष पुरस्कार राशीमा वृद्धि गरिएको छ। विजेता टिमले रु ८०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु ४०,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विशेष सम्मान प्रदान गरिने व्यवस्था गरिएको क्लबले जनाएको छ।
यसबाहेक समाजमा सकारात्मक योगदान पुर्याइरहेका युवाहरूलाई सम्मान गर्ने उद्देश्यले “त्रिभुवन युथ अवार्ड ” वा “कम्युनिटी हिरो ” सम्मानको व्यवस्था मिलाइने तयारी भइरहेको अध्यक्ष बरालले जनाउनुभयो।
प्रतियोगितासँगै स्थानीय बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जसले खेलकुदसँगै स्वास्थ्य सचेतना विस्तार गर्ने क्लबको उद्देश्यलाई मजबुत बनाउने उहाँले बताउनुभयो।
प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ र सहभागी टिमहरूले तोकिएको अन्तिम मितिभित्र दर्ता गरिसक्नुपर्ने क्लबले जनाएको छ। पाँच–पाँच जनाको टिममा हुने यो फाइभ–ए–साइड प्रतियोगिताले ठुलिबिडी मात्र होइन, सम्पूर्ण पोखरा क्षेत्रमा खेलकुद र सामाजिक उत्तरदायित्वको नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको अध्यक्ष बरालले बताउनुभयो।
कार्यक्रमलाई सफल र भव्य बनाउन अर्थ, प्रचार–प्रसार तथा कार्यक्रम व्यवस्थापनसहितका विभिन्न उप–समितिहरू गठन गरिसकिएको क्लबले जनाएको छ।
