पोखरा
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी आवश्यक पर्ने भएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल) भर्ना सम्बन्धी एकीकृत सूचना सार्वजनिक गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान गरेको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” बमोजिम भर्ना प्रक्रिया अघि बढाइएको हो। दरखास्त २०८२ साल पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म दर्ता गर्न सकिनेछ। सार्वजनिक बिदाका दिन पनि आवेदन लिन व्यवस्था गरिएको छ।
आवेदन जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, कास्की तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण, मालेपाटन, पोखराबाट दर्ता गर्न सकिनेछ। छनौट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिने जनाइएको छ। छनौटमा परेकाहरूका लागि माघ १५ गतेदेखि २४ गतेसम्म प्रशिक्षण (तालिम) सञ्चालन हुनेछ।
निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिदेखि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मको पारिश्रमिक, खाद्यान्न बापतको रकम, एकमुष्ट तयारी खर्च, खाजा खर्च तथा तोकिए बमोजिमको पोशाक बापतको रकम उपलब्ध गराइनेछ। सम्पूर्ण सेवा सुविधा सम्बन्धित व्यक्तिको व्यक्तिगत बैंक खातामा भुक्तानी गरिने जनाइएको छ।
भर्नाका लागि नेपाली नागरिक हुनु पर्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ। पूर्व सुरक्षाकर्मी, पूर्व निर्वाचन प्रहरी तथा विगतका निर्वाचनमा सन्तोषजनक कार्य गरेका व्यक्तिलाई प्राथमिकता दिइने बताइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि यो भर्ना प्रक्रिया सुरु गरिएको स्पष्ट पारेको छ।

