सात शालदेखि नेपालमा राजनीतिक परिवर्तनसँगै विभिन्न राजनीतिक दलहरूले आफ्ना पाटिको सिद्धान्त, विचार र वादलाई लिएर अघि बढ्दा देशमा पटकपटक व्यवस्था फेरिए, शासक फेरिए। तर नेपाली जनताले देखेका सपना कहिल्यै फेरिएनन्। दशकौंदेखि ज्युका त्यहि रहिनै रहे। किनभने राजनीतिक दल र नेताहरूले वर्षौंदेखि कहिले जनतासँग माफि माग्दै, त कहिले “अबदेखि यस्तो हुँदैन” भन्दै जनतालाई देखाएका सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै आए। तर आजसम्म आइपुग्दा देश यति खोक्रो भएको छ कि हामी हरेक नेपालीको थाप्लोमा मात्रै हैन, गर्भमा रहेको त्यो बच्चाको थाप्लोमा समेत ऋणको भारले थिचिरहेको छ।
दलहरूले हिजो नेपाली जनताबीच लिएर आएका पाटिका, एजेन्डा, विचार, सिद्धान्त मात्रै हैन, विभिन्नवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद, विपिवादलाई पनि सत्ता र भत्ताका लागि गणितीय खेलमा लगाएर राजनीति कमाउने धन्दा बनाउँदै जनमतको खिल्ली उडाउँदै आएका छन्। पूर्व–पश्चिम फरक–फरक विचार, सिद्धान्त र वाद लिएर आएका दलहरू समेत सत्ताका लागि सबै कुरालाई बिर्सेर कहिले कार्यगत एकता, त कहिले गठबन्धनको नाम दिँदै, जसरी भएपनि जो जहाँ भएपनि सत्ता प्राप्ति हुनै पर्ने सर्वसत्तावादमा लाग्दै नेपाली जनतालाई राम्ररी झुक्याउन सफल भएका छैनन् भने होइनन्।
तर दल र चप्पल पड्काउँदै राजधानी छिरेका नेताहरू अकूत सम्पत्ति कमाउन र आलिशान महलमा बस्न जति सफल भए, त्यतिनै नेपालकै इतिहासमा देशलाई असफल राष्ट्र जस्तो मात्र बनाएनन्। नेपाली जनतालाई ऋणको भारमा पार्ने काम मात्र गरेनन्, सामाजिक, राजनीतिक र नैतिक रूपमा स्वयं पनि त्यति नै असफल भए।
किनभने नेपालका पुराना दलहरूले राजनीतिक सिद्धान्त र वादलाई मेटाउँदै गए। भ्रष्टाचारले चरम सीमा नाघ्यो। दल र नेताहरू राजनीतिका नाममा देश र जनताप्रति भन्दा पनि कमाउने धन्दामा केन्द्रित हुँदै गए। देश र जनताप्रति तानाशाह प्रवृत्ति देखाउँदै गए, फलस्वरूप नेपालकै इतिहासमा न थियो, न भोलिका दिनमा हुन सक्ला, त्यस्तो जेनजि युवा शक्तिको उदय भयो। जेनजि जागे, देशमा जेनजि आन्दोलन भयो, जेनजि आन्दोलनसँगै नेताहरू केही दिन त छटपटी गरि भागे। देशको राजनीति धमिलो पानी जस्तो भयो। धमिलो पानीमा कतिले माछा मारे, कतिले गोठ गुड नै सारे, कतिले सत्र पारे। फेरि जब देशको राजनीतिक अवस्था सँलिदै जान थाल्यो।
फेरि कतिपय नेता धुवाँको मुस्लोबाट टाउको छिराउँदै, कतिपय नेता खरानी टकटक्याउँदै, कतिपय नेता छटपटाउँदै बाहिर निस्केर खुब जेनजि पक्षधर, जेनजि समर्थक भएको नाटक गर्दै ती हिजो स्वतन्त्र रूपमा आन्दोलनमा लागेका जेनजिलाई समेत दलिय ट्याग दिँदै आफ्ना पाटिको नाममा जेनजि शब्द घुसाउन थाले। जसले गर्दा हिजो भ्रष्टाचार विरुद्ध, शुशासनका लागि निस्केका जेनजिलाई समेत दलिय रङ दिएर कमजोर बनाउने काम मात्र गरेनन्।
सबै वाद, विचार र सिद्धान्त बिर्सदै गएका नेताहरू फेरि सत्ताकै लागि “हामी जन्मेका हौँ” भनेझै गरी, कुन पार्टी नभनि नयाँ–पुराना दल सबै फेरि एकताको अभ्यासमा लाग्न थाले। कतै नयाँ–नयाँ दलहरूले जन्म लिँदै, कतै जन्मिएका दलहरू समेत एकतामा समाहित हुँदै गए।
तर नयाँ–पुराना जुनसुकै दलले जति एकताको कुरा गरे पनि, आखिर उही पुरानो प्रवृत्ति दोहोर्याएर, कसलाई कति पद, कसलाई कुन पद मात्र हैन, गर्भेपद समेतको भागबन्डासहित सहमति गर्दै पार्टी एकताको घोषणा गरिरहेका छन्। कतिपय दलहरूको भित्र–भित्रै भुसभित्रको आगो जस्तै असन्तुष्टिको धुवा पुत्पुताउन थालेको छ। आखिर जति नै एकता भए पनि, नेताहरूले जति नै विशाल एकता भने पनि, जलेर खरानी भएको देशभन्दा पनि नेताहरूलाई आफ्नै पद, प्रतिष्ठा र सत्ताको बाहेक कुनै चिन्ता रहेनछ भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेका छन्। त्यसैले भन्नै पर्ने हुन्छ, यतिबेला नेताहरूमा देखिएको एकता, नियत सत्ताको घोषणा एकताको भन्दा फरक नपर्ने देखिन्छ। जसलाई देश बनाउने एकता हैन, पार्टी बचाउने एकता भन्दा फरक नपर्ला।
कतिपय नेताहरू आफ्नो राजनीतिक इतिहास बचाउन दौडधुप गरिरहेका छन्। कतिपय नेताहरू फरक–फरक नाम दिएर एकतामा समाहित हुँदै गएका छन्। कतै भने पुरै भागबन्डासहित सशर्त एकतामा समाहित भएका छन्। तर जति नै दलहरूले एकताको कुरा गरे पनि, ती सबैको एकता देश र जनताका लागि भन्दा पनि सत्ता, भत्ता, पद र प्रतिष्ठाका लागि भएको एकता हो भन्ने देखिन्छ। नेपालका राजनीतिक इतिहास बोकेका दलहरूले पार्टी, झण्डा मात्रै हैन, विचार, सिद्धान्त, वाद सबै त्यागे, तर सत्ता, भत्ता, पद र प्रतिष्ठाप्रतिको लोभ–लालच अझै त्याग्न सकेका छैनन्।
नयाँ–पुराना, त कतिपय भरखरै जन्मेका दल र नेताहरूमा देखिएको नियत र प्रवृत्ति हेर्नुहोस्।
त्यसैले अझै पनि नेपाली जनता भ्रष्टाचार अन्त्य हुन्छ, देश बन्छ, नेपाली जनताको भविष्य बनाउँछ भन्ने कुरामा ढुक्क हुने अवस्था छैन। किनभने यतिबेला दलहरूमा देखिएको एकता, कुनैबेला पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकिकरण गरी विशाल नेपाल निर्माण गरेको एकता जस्तो होइन।
यो एकता त “हामी सबै मिलेर जानौं, हिजो गरेको भ्रष्टाचार कारवाही हुनबाट जोगाऔं, त कतै तिमी फलानो पदमा, म फलानो पदमा, तिम्रो यो स्वार्थ पूरा होस्, मेरो यो स्वार्थ पूरा होस्” भनी एकता गर्नुपर्ने जस्तो देखाइएको छ। यस्तो एकताले देश र जनताको हित गर्दैन। त्यसैले भन्नै पर्ने हुन्छ, यस्तो एकता होइन, जसरी पृथ्वीनारायण शाहले निस्वार्थ एकीकरण गरेर सिङ्गो नेपाल निर्माण गरे, त्यस्तै विशाल एकता होस्।
जुन एकता देश र जनताका लागि होस्, पद, प्रतिष्ठा, सत्ता र भत्ताका लागि होइन। नयाँ–पुराना, भर्खरै जन्मेका दल र नेताहरूले अहिले गरेको एकता सत्ता भागबन्डाको जस्तो देखिन्छ। जसले गर्दा अब पनि नेपाली जनताका लागि नयाँ होस् वा पुराना, दल र नेताहरूको उही भ्रष्टाचार र पुरानो प्रवृत्तिको सिकार बन्नु निस्सन्देह छ। त्यसैले अब नेताकै पछि मात्र हैन, अघि बढेर देश बचाउनु पर्छ। त्यो जिम्मेवारी हरेक नेपालीको काँधमा आएको छ।
नेताहरूले अहिले गरेको एकता सत्ता भागबन्डाको जस्तो देखिन्छ। जसले गर्दा अब पनि नेपाली जनताका लागि नयाँ होस् वा पुराना, दल र नेताहरूको उही भ्रष्टाचार र पुरानो प्रवृत्तिको सिकार बन्नु विकल्प छैन। त्यसैले हरेक नेपाली जनताले नयाँ–पुराना सबै दल र नेतासँग प्रश्न गर्नुपर्ने बेला आएको छ। यतिबेला भएको के का लागि एकता? देश र जनताका लागि कि सत्ता भागबन्डाका लागि?
प्रतिकृया दिनुहोस
