Friday, January 16News That Matters

१४औँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा, पौष २९ देखि माघ ११ सम्म सञ्चालन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

१४औँ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। अमरसिंह माध्यमिक विद्यालयको विशाल खेलमैदानमा आगामी पौष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवबारे जानकारी दिँदै युनाइटेड क्लबका प्रचार–प्रसार संयोजक दिनेश सुनारले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

“युवाको जाँगर, राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित २०६७ सालमा स्थापना भएको युनाइटेड क्लबले विगत १३ वर्षदेखि निरन्तर पोखरा महोत्सव आयोजना गर्दै आएको छ। क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै १४औँ संस्करणसम्म आइपुगेको सुनारले जानकारी दिए।

पोखरा महोत्सवबाट संकलित आम्दानीमार्फत पोखरा र आसपासका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको बताउँदै उनले स्वास्थ्यतर्फ दुर्गम तथा ग्रामीण भेगका नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको बताए। पर्यटन प्रवर्द्धनका लागि पोखरामा निर्माणाधीन खुला चिडियाखानामा ५८ लाख ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिसकिएको र उक्त आयोजना हाल गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढिरहेको जानकारी पनि उनले दिए।

युनाइटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा–२७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी आवासीय छात्रावास निर्माण कार्य अघि बढाइएको छ। २० कोठे भवन निर्माण लक्ष्यअनुसार हाल ३ कोठा सम्पन्न भइसकेको र बाँकी कोठा यस महोत्सवको आम्दानीबाट निर्माण गरिने सुनारले बताए। साथै, महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याइँदै आएको जानकारी पनि उनले दिए।

उनका अनुसार १४औँ पोखरा महोत्सवमा २५० स्टल रहनेछन् र सबै स्टल बुकिङ भइसकेका छन्। महोत्सव अवधिमा २ लाखदेखि २ लाख ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। महोत्सवको मुख्य प्रायोजक वेटर होम एप्लायन्स रहेको छ भने टिकट रेभल एपमार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।

महोत्सवमा शारीरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्षमुनिका बालबालिका तथा पोसाकसहितका सुरक्षाकर्मीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सुनारले बताए। साथै महोत्सवमा प्रकाश सपुत, शान्तिश्री परियार, बद्री पंगेनी, समिक्षा अधिकारी, सविन राई, भिटेन, दुर्गेश थापा, अनुप्रस्था लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी पनि उनले दिए।

औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, कृषि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक झाँकी, नृत्य, प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमसहित महोत्सवले देशको आर्थिक चलायमानता, रोजगार सिर्जना र कला–संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ। महोत्सवलाई सभ्य र भव्य बनाउन सबै क्षेत्रका नागरिक, व्यवसायी, कलाकार, बुद्धिजीवी तथा सञ्चारकर्मीको सहयोग आवश्यक रहेको भन्दै आयोजकले अपिलसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस