Friday, January 16News That Matters

कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा मनाइने

यो समाचार शेयर गर्नुहोस्


पौष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा शोभायात्रा, माल्यार्पण र बौद्धिक चर्चा

पोखरा


३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कास्की जिल्लामा भव्य रूपमा मनाइने भएको छ। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, कास्कीले यही २०८२ साल पौष २७ गते विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी पूरा गरेको छ।


समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा शोभायात्रा, माल्यार्पण तथा बौद्धिक चर्चा कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष आदरणीय गुरु वलभद्रनाथ योगीजी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।


कार्यक्रम अनुसार पौष २७ गते आइतबार अपरान्ह ११ बजे कास्की जिल्लाभित्रका सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघसंस्थाहरू मानवअधिकार चोक चिप्लेढुंगामा भेला हुनेछन्। ११ः३० बजे उक्त भेलालाई पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रामा परिणत गरी पृथ्वीचोक कार्यक्रम स्थलसम्म लगिनेछ।
दिउँसो १२ः३० बजे पृथ्वीचोकमा आयोजित मूल कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूलाई सम्बोधन गर्दै पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनेछ भने प्राज्ञिक व्यक्तित्वहरूद्वारा राष्ट्रिय एकता, इतिहास र राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानमाथि चर्चा–परिचर्चा गरिने कार्यक्रम रहेको छ।


समितिले पृथ्वीनारायण शाहले नेपाललाई विश्व मानचित्रमा स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गर्न खेलेको भूमिकालाई स्मरण गर्दै जन्मजयन्ती मनाउनु वैदिक संस्कृति तथा नेपाली मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गरेको छ।

कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन पत्रकार, नागरिक समाज तथा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको समितिको भनाइ छ।


कार्यक्रम सफल बनाउन स्वामी चिद्धत चैतन्य प्रमुख संरक्षक रहनु भएको छ भने सचिव भूपेन्द्र गिरी र कार्यक्रम संयोजक भोलाजंग सुवेदीले सबैलाई सहभागिता र सहयोगका लागि आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस