Wednesday, March 11News That Matters

पोखरामा माघ ९ देखि NCELL छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपको तयारी पूरा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा NCELL छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ।

नेपाल भलिबल संघको स्वीकृति तथा संयोजनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन्। यसपटक विदेशी टिमको सहभागिता प्रतियोगिताको विशेष आकर्षण रहनेछ।

महिला तर्फ थाईल्याण्ड क्विन्स् र पुरुष तर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब र थाईल्याण्ड क्विन्स् सहभागी हुनेछन् भने पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको पुरस्कार राशी यस वर्ष वृद्धि गरिएको छ। विजेता महिला तथा पुरुष टिमले समान रूपमा रु. ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले रु. ३ लाख ६६ हजार ६ सय ६६ र तृतीय हुने टिमले रु. २ लाख ६ हजार ६ सय ६६ प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. २६ हजार ६ सय ६६ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन HD बाट हुने छ।
प्रतियोगिता आयोजना गर्न करिब रु. १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितालाई भव्य र सभ्य बनाउन स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी, सञ्चारकर्मी, नागरिक समाज, उद्योगी–व्यापारी तथा सरोकारवाला सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस