कास्की क्षेत्र नम्बर ३ अन्तर्गत पोखरा–२४ कास्किकोटमा रहेको श्री कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान उत्साहजनक रूपमा भइरहेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्थापना गरिएको उक्त मतदान केन्द्रमा करिब ४४८६ मतदाता रहेकोमा हालसम्म करिब १६०० मत खसेको जानकारी प्राप्त भएको छ।

प्रदेश प्रमुख कार्यालयका मतदान अधिकृत चण्डी प्रसाद आर्यालका अनुसार बिहानदेखि नै मतदाताको उपस्थिति उल्लेख्य रहेको छ। उनले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित ढङ्गले अगाडि बढिरहेको बताए।

मतदान केन्द्रमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ भने मतदाता पनि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। स्थानीयवासीले उत्साहका साथ मतदानमा सहभागिता जनाइरहेका कारण दिनभरि मतदाताको चहलपहल देखिएको छ।

मतदान अधिकृत आर्यालले बाँकी समय पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको जानकारी दिएका छन्।



