पोखरा
पोखरामा अब मनोरञ्जनको क्षेत्रमा थप नयाँ सुविधा थपिएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि 18D सिनेमा सञ्चालनमा ल्याएको हो। नेपालमै पहिलोपटक सुरु गरिएको यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा आएको हो।

सिनेमाको औपचारिक उद्घाटन राजेश हमालले गर्नुभएको थियो। उहाँले पोखराका दर्शकले फरक शैलीको अनुभव लिन पाउने बताउनुभयो। “पोखरा आफैमा सुन्दर सहर हो। यहाँ धेरै फिल्महरूको सुटिङ हुने गर्छ। सिनेमाको व्यवसायिक हिसाबले पनि पोखरालाई महत्त्वपूर्ण सहर मानिन्छ। यो सिनेमा मात्र नभई एउटा नयाँ संसारको यात्रा हो,” उहाँले भन्नुभयो।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाका कारण पोखरामा विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार, काठमाडौँको भन्दा यहाँको प्रविधि अझ उन्नत छ। उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै दर्शकलाई नयाँ किसिमको मनोरञ्जन अनुभव प्रदान गर्नु कम्पनीको लक्ष्य रहेको उहाँले बताउनुभयो। “यो सिनेमामा १० देखि ३० मिनेटसम्म रोमाञ्चक अनुभव लिन सकिन्छ। कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभूति लिन सकिने भएकाले सबै उमेर समूहका लागि उपयुक्त छ,” उहाँले भन्नुभयो। साथै, यसमार्फत १७ वटा फरक–फरक कथात्मक संसारमा प्रवेश गर्न सकिने उहाँले जानकारी दिनुभयो।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले पोखरामा यस्तो सिनेमा सञ्चालनले मनोरञ्जनको दायरा अझ फराकिलो बनाउने बताउनुभयो। “अब पोखरेली दर्शकले नयाँ अनुभव भित्रैबाट पनि लिन सक्नेछन्,” उहाँले भन्नुभयो।

यससँगै, पोखरामा आधुनिक प्रविधियुक्त मनोरञ्जनको नयाँ सुविधा थपिएको छ।
