पोखरा
पोखरामा “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने नारासहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा खेलकुद पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रेस रजिस्ट्रार कार्यालय गण्डकीको सहयोग रहेको थियो। तालिम नेपाल पत्रकार महासंघ कास्कीको भवनस्थित सभाहलमा सम्पन्न भएको हो।

फोटो :- राम गुरुङ
तालिमको दोश्रो दिन प्रशिक्षक देवेन्द्र सुबेदीले क्रिकेट विधामा पत्रकारले खेल कसरी बुझ्ने र रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। उनले क्रिकेट मैदान अवलोकन गराउँदै व्यवहारिक अभ्याससहित खेलका नियम तथा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने विषयबारे जानकारी गराएका थिए।

त्यसैगरी मार्सल आर्ट्सतर्फ प्रशिक्षक सुबास खड्काले प्रशिक्षण दिएका थिए। उनले जुडो , कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाईलगायत मार्सल आर्ट्सका विधा, इतिहास, नियम, प्रहार गर्न नपाइने स्थान, अंक जोडिने तरिका, किक हान्ने स्थान र खेलको निर्णय प्रक्रिया लगायतका विषयमा पत्रकारलाई जानकारी दिएका थिए।

प्रशिक्षणका क्रममा मार्सल आर्ट्सको नेपालमा भएको विकासक्रमबारे पनि चर्चा गरिएको थियो। सन् २०३९ सालतिरबाट नेपालमा सुरु भएको कराते गतिविधि तथा महागुरु सिहान जगत प्रसाद गौचनले स्थापना गरेको नेपाल क्योकुशिन कराते डो संघको इतिहासबारे पनि सहभागी पत्रकारलाई जानकारी गराइएको थियो।
त्यस्तै फुटबलतर्फ प्रशिक्षक हिमेश रत्न बज्राचार्यले लिग र नकआउट प्रणाली, टोली छनोट प्रक्रिया, खेल विश्लेषण तथा खेल रिपोर्टिङका आवश्यक पक्षबारे पत्रकारहरूलाई प्रशिक्षण दिएका थिए।

सहभागी पत्रकारका तर्फबाट कमल पौडेलले तालिम निकै फलदायी भएको बताए। उनले भने, “हामीले पहिले कागजमा कलमले लेख्दै, आफैं सिक्दै पत्रकारिता गर्यौं। कहिलेकाहीँ नजानी–नजानी काम पनि गरियो। तर अहिले जानेर काम गर्दा फरक अनुभव हुन्छ। संघर्षका दिन सम्झँदा अहिले डिजिटल युगमा सिकेर काम गर्न पाउँदा झन् खुशी लागेको छ।” उनले आगामी दिनमा पनि यस्ता तालिम अझ आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै राम गुरुङले पनि तालिम उपयोगी भएको उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

फोटो :- राम गुरुङ
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारितामा सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएको बताए। उनले भने, “अन्य क्षेत्रमा सेमेस्टर प्रणाली हुन्छ, छ–छ महिनामा परीक्षा हुन्छ वा वर्षमा एकपटक वार्षिक परीक्षा हुन्छ। तर पत्रकारितामा भने हरेक दिन परीक्षा जस्तै हुन्छ। हामीले दैनिक काममार्फत नै परीक्षा दिनुपर्छ र पास हुनुपर्छ।”
कार्यक्रमका सभापति तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पत्रकारहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

फोटो :- राम गुरुङ
कार्यक्रमको समापनमा प्रशिक्षकहरूलाई मायाको चिनो तथा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिए।
