पोखरा,
नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरा क्लिकर तथा पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
५ किलोमिटर दूरीको यो रात्रिकालीन दौड वाराहीघाटबाट बेलुका ७ बजे सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेडुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुनेछ।
अंग्रेजी नयाँ वर्षको तुलनामा नेपाली नयाँ वर्षमा पर्यटन प्रवर्द्धनका कार्यक्रम कम भइरहेका बेला ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकालीन व्यवसाय प्रवर्द्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह तथा खेलकुदमार्फत पर्यटन विस्तार गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार यस कार्यक्रमले पोखरालाई २४ सै घण्टा सक्रिय र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रात्रिकालीन दौड नयाँ अवधारणा भएको उल्लेख गर्दै यसले सहरका विभिन्न क्षेत्रलाई एकीकृत रूपमा जोड्ने माध्यम बन्ने बताए। त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमै पहिलोपटक हुन लागेको यस प्रकारको प्रतियोगिताले खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे।
प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा सञ्चालन हुनेछ। विभिन्न सरकारी तथा निजी संघसंस्थाको समेत सहयोग रहने आयोजकले जनाएको छ। होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवसँग सहकार्य गर्दै विदेशी धावकको सहभागिता बढाउने पहल गरिने जानकारी दिए।
दौडमा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी धावकको बीमा गरिनुका साथै रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतका अनुसार उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट प्रदान गरिनेछ। पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले पार्क विस्तारसँगै निकट भविष्यमा करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए।
रेस डाइरेक्टर ओम गुरुङले प्राविधिक तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै ट्राफिक व्यवस्थापनमा स्थानीयको सहयोग अपरिहार्य रहने बताए। केन्द्रका उपाध्यक्ष असफल गौतमले नयाँ वर्ष लक्षित कार्यक्रमको कमी भइरहेका बेला यस प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
केन्द्रका सचिव सागर सुनारका अनुसार खेलाडी दर्ता प्रक्रिया जारी रहेको छ। इच्छुक सहभागीले चैत २५ गते बिहान ११:५९ बजेसम्म पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत नाम दर्ता गर्न सक्नेछन्।
पुरस्कारतर्फ खुला विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला, विदेशी र यू–१६ विधाका विजेताले जनही ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
दौडमा उत्कृष्ट २० भित्र पर्ने धावकलाई फिस्टेल ड्रिम पार्कको प्रवेश टिकट प्रदान गरिनेछ भने अन्य सहभागीलाई पनि विशेष छुटको व्यवस्था गरिएको छ।
करिब ७ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताले शहरी गतिशीलता, स्वस्थ जीवनशैली तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
