पोखरा,
खेलकूद गतिविधि सुस्ताउँदै गएको अवस्थामा लिटिल स्टेप सेकेन्डरी स्कूल, सिमलचौर–८, पोखराले “लिटिल स्टेप ७-ए साइड फुटबल तथा टेबल टेनिस प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ। विद्यालय व्यवस्थापन समिति सदस्य डा.कैलाश तिमिल्सिनाका अनुसार फुटबलतर्फ प्रतियोगिता यही चैत्र २८ र २९ गते विद्यालयको आफ्नै खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागिताका लागि कुनै दर्ता शुल्क नलाग्ने व्यवस्था गरिएको छ। हालसम्म ३३ भन्दा बढी टिमहरूको सहभागिता सुनिश्चित भइसकेको विद्यालयले जनाएको छ, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने विश्वास गरिएको छ।

विद्यालयका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य हो। साथै, विद्यालयस्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त मञ्च प्रदान गर्ने लक्ष्य पनि राखिएको छ।
फुटबलतर्फ प्रथम हुने टिमलाई रु. ६००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई रु. ४००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी टेबल टेनिसतर्फ प्रथम हुने खेलाडीलाई रु. २००० नगदसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेलाई रु. १५०० नगदसहित ट्रफी र प्रमाणपत्र तथा तृतीय हुनेलाई रु. १००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
विद्यालयले यस प्रतियोगितामार्फत विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरेको छ। साथै, सम्पूर्ण सञ्चारकर्मी, अभिभावक तथा खेलप्रेमीहरूलाई कार्यक्रमको सफलताका लागि सहकार्य र सहभागिताका लागि आग्रह गरिएको छ।

