
पोखरा,
कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा ४ विदेशी नागरिकसहित ९ जनाको गिरोहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय पोखराका विभिन्न क्षेत्रमा चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धान गर्दै उक्त गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू विभिन्न मितिमा पोखरा महानगरपालिका–६, ८, १७ र १८ का घर तथा डेरामा चोरीका घटनामा संलग्न रहेका छन्। उनीहरूले सुनका गरगहना, नगद, मोबाइल, ल्यापटपलगायतका सामग्री चोरी गरेको आरोप छ।
अनुसन्धानका क्रममा प्रहरीले ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप र १.३९४ तोला तौलको सुनको ब्रासलेट बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतका राहुल निषाद र सोमनाथ हनुमन्त जाधव, चीनका Wen Jie र Wang Lianyin तथा नेपालका राजकुमार बिक, खिमबहादुर क्षेत्री (राजु के.सी.), अशोक पोख्रेल, केशव पाइजा मगर र अनिल बिक रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
