पोखरामा भलले बगाएर उद्धार गरिएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन्।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, कास्कीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिइन्।

पोखरा महानगरपालिका– ७ स्थित हर्कचोकमा स्कुटर साइड लगाएर वर्षामा हिँड्ने क्रममा सडक नालीबाट आएको भेलले सुष्मा र उनकी छोरीलाई बगाएको थियो।
घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा दुवै जनालाई साँझ ४ बजेर २३ मिनेटमा पोखरा–१७, बिरौटास्थित नहर कुलोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो।त्यस्तै, उनकी दुई वर्षीया छोरी रानीका दाहालको शनिबार बिहान १ बजेर २१ मिनेटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव गण्डकी मेडिकल कलेजमै राखिएको छ।

स्थानीयवासीका अनुसार पोखराका सडकमा रहेका नाली साँघुरा हुनुका साथै भलसँगै आएको फोहोरले नाली थुनिँदा पानी सडकमा बग्ने गरेको छ। नालीको उचित व्यवस्थापन नहुँदा वर्षायाममा सडकमा ठूलो मात्रामा भल बग्ने र शुक्रबारको घटना पनि यस्तै अवस्थाका कारण भएको स्थानीयवासीले बताएका छन्।
आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सडक तथा नालीको उचित व्यवस्थापनमा छिटोभन्दा छिटो ध्यान दिनु जरुरी देखिन्छ।

