Sunday, September 20News That Matters

मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता

यो समाचार शेयर गर्नुहोस्

फोटो :-प्रकाश अधिकारी

पोखरा,

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ।

शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा भएको फाइनलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै एनएसजेएफ गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा एनएसजेएफ गण्डकीका धनबहादुर गुरुङ ‘सुमन’ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल पत्रकार महासंघ बागलुङका रोहन जीसी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर गो बन्जीका तर्फबाट फ्लाई कुपनसमेत प्रदान गरिएको थियो।

प्रतियोगिताको पुरस्कार गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले वितरण गरे। उनले खेलसँगै शिक्षा पनि आवश्यक रहेको बताउँदै गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापनमा पठनपाठन गराउँदै आएको र संशोधित पाठ्यक्रममा फुटसललाई समेत समावेश गरिएको जानकारी दिए।

लिग चरणमा एनएसजेएफ गण्डकीले आयोजक नयाँलिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेको थियो भने बागलुङसँग बराबरी खेलेको थियो। समान ७ अंकसहित एनएसजेएफ गण्डकी र बागलुङ फाइनलमा पुगेका थिए।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापालगायतले मन्तव्य राख्दै प्रतियोगिता सफल भएकोमा आयोजकलाई शुभकामना दिए।

आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट बचत भएको रकम हालैको भोटेकोशी बाढीबाट प्रभावितहरूको राहतमा खर्च गरिने बताए। उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने पत्रकार, पत्रकारसम्बद्ध संस्था, प्रायोजक तथा सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी वर्ष प्रतियोगितालाई अझ व्यापक बनाउने बताए।

‘प्रतियोगिताको उद्देश्य खेल्नुमात्र नभई संस्थालाई मानवीय सेवासँग जोड्नु पनि हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘प्रतियोगिताबाट प्राप्त मुनाफा भोटेकोशी बाढी प्रभावितको हितमा खर्च गरिनेछ।’

प्रतियोगिताको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डी हिमालयज (सीडीएच) रहेका थिए।

फोटो :-प्रकाश अधिकारी

सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका वडा नम्बर ३ रहेका थिए।

प्रतियोगिताको प्रवद्र्धकमा परिचय एडभर्टाइजिङ र लिड्स इभेन्ट्स, एडभेन्चर पार्टनरमा गो बन्जी तथा प्रिन्टिङ पार्टनरमा पीएम सोलुसन रहेका थिए। मेडिकल पार्टनर गण्डकी मेडिकल कलेज, हस्पिटालिटी पार्टनर चाइनिज गार्डेन रेष्टुरेन्ट एण्ड बार र इन्स्योरेन्स पार्टनर सलिको रहेका थिए।

त्यस्तै, बाराही स्पोर्टस्, डी–जे साउण्ड सिस्टमका सञ्चालक मनिस भुज, नृत्य संयोजनतर्फ मनिस भुज, होटल पार्टनर होटल एडमायर प्रालि तथा भेन्यू पार्टनर सफल ब्याङ्केट, लाई आयोजकले धन्यवाद दिएको छ।

फोटो :-प्रकाश अधिकारी

प्रतिकृया दिनुहोस