कास्की
पोखराको नागढुंगास्थित युनिक होटलमा रहस्यमय मृत्यु भएको महिलाको घटनामा आशंका गरिएका पुरुष फरार भएका छन् । प्रहरीले विभिन्न आधार बनाएर गरेको अनुन्धानले एक पुरुषलाई आशंका गरि निगरानीमा राखेको थियो । पोखरामा मोबाइल अफ गरेका ती पुरुषको मोबाइल नेपाल भारत सिमा नजिक खुलेको थियो । तत्कालै प्रहरीले लोकेसन ट्रयाक गरेपनि सिमाबाट पुनः उनको फोन बन्द भएको स्रोतले बताएका छन् । रहस्मयी घटनामा सुकुको घाँटीको हाडहरु भाचिएको पोस्टमार्ट रिपोर्टमा देखिएको स्रोतको दाबी छ । यस्तै घटनाहुनु अघि सुकु र ती पुरुषले होटलमा १ वटा वियर मगाएका थिए । होटलको कोठामा बसेको केही समयमा नै पुरुष निस्केर हिडेका थिए । सुकुसँगै बसेका पुरुषले निलो रंङको हुट, टोपी र माक्स लगाएका थिए । तर होटलमा सिसिटिभी जडान नभएको कारण प्रहरीले बलियो प्रमाण पाउन नसकेको स्रोतले जानकारी दिए । उक्त विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले गम्भिर अनुसन्धान भइरहेको सुनाए ।

‘यो विषयमा बैदाम प्रहरीले (वडा प्रहरी कार्यालय बैदाम) अनुसन्धान गरिरहेको छ । उहाँहरु गम्भिर रुपमा लागिरहनु भएको छ । घटना अलि जटिल भएकाले ढिला भएको हो’ विकले भने, ‘हामीले महिलाको हराएको मोबाइलबाट पनि अनुसन्धान गरिरहेका छौं ।’ घटना मंसिर पाँच गतेको हो । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक पोखरा ९ ,नागढुंगामा रहेको युनिक होटलको एक रुममा मृत फेला परेकी थिइन् । सोही होटलबाट केहि दुरीमा रहेको शिला रेष्टुराँमा काम गर्ने सुकुको शव हेरेपछि प्रहरीले हत्याको आशंका गरेको थियो । होटलको बन्द गरिएको कोठा खोलेर हेर्दा उनी अचेत भेटिएकी थिइन् । तत्काल उपचारका लागि करिब ५० मिटरको दूरीमा रहेको चरक मेमोरियल अस्पताल लग्दा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । घटनाको बारेमा होटलकी साहुनीले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको विषयमा होटल सञ्चालक सहित पाँच जनालाई प्रारम्भिक सोधपुछ गरि छाडिएको थियो । प्रहरीले महिना दिन वित्न लाग्दा समेत घटनाको सत्य तथ्य र अपराधि पत्ता लगाउन सकिरहेको छैन् । घटना भएको होटलमा सिसिटिभि नहुनुले पनि थप जटिलता भएको स्रोत बताउँछन् । आशंका गरेका व्यक्तिको सिमाबाट मोबाइल अफ भएपछि प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ ।