Wednesday, April 30News That Matters

गण्डकी विश्वविद्यालयमा नियम विपरित आंशिक शिक्षकनै डीन ! पाँच संकायका एकै डीन, अख्तियारमा उजुरी

यो समाचार शेयर गर्नुहोस्

गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारी विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो ।

विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरित अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानविनसहित कारवाहिको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको स्नातक तहमा पाँच शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । तर अधिकारीलाई पाँच शैक्षिक कार्यक्रमको डीनको रुपमा कार्यभार संचालनको जिम्मेवारी दिइएको छ ।

गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ऐनले पनि स्पष्ट रुपमा संकायअनुसार डीन रहने व्यवस्था गरेको छ । उक्त ऐनको दफा २९ (१) मा भनिएको छ, ‘संकाय प्रमुखको रुपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन रहनेछ ।’ ऐन अनुसार चार संकायमा डीन नियुक्त भएका छैनन् ।

गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ को परिच्छेद–को नियम ४६ मा डीनको व्याख्या गरी डीनको व्यवस्था योग्यता र अनुभवको आधारमा गरिनेछ भनि उल्लेख छ । सोही नियमावली को नियम ४६ को उपनियम (१) मा लेखिएको छ, ‘सम्बन्धित संकायका प्राध्यापक वा सह–प्राध्यापक मध्येबाट डिनको नियुक्ति गरिनेछ ।’ सो अनुसार भने भएको देखिदैन ।

विश्वविद्यालयकै एक व्यक्तिले परीक्षाका दौरान विद्यार्थीले फ्याकल्टीमा विज्ञान तथा प्रविधि लेख्न बाध्य भएको सुनाए । उनका अनुसार संकाय नै फरक हुँदापनि विज्ञान तथा प्रविधिकै लेख्नुपर्ने बाध्यता छ । ‘विज्ञान तथा प्रविधि भन्दा बाहिरका विद्यार्थीले समेत सोही विषय लेख्न पर्ने बाध्यता छ । विद्यार्थीले पाउने ट्रान्सकिप्ट (लब्धाङ्क) मा फरक संकायको डीनको हस्ताक्षर हुने भयो’ उनले भने, ‘भोलि यसले गर्दा त्यो ट्रान्सकिप्टनै अवैद्य हुन्छ ।’

अधिकारीलाई नै डीन बनाउन ऐन विपरित सूचना विज्ञापन समेत गरिएको थियो । सूचनाको योग्यतामा भनिएको छ, ‘विज्ञान तथा प्रविधि विषयमा विद्यावारिधि गरेको, ८ वर्ष अध्यापन (स्नातक तह वा सो भन्दा माथिल्लो तहमा)– अनुसन्धान सम्बन्धी अनुभव र स्नातकोत्तर तहको सुपरभाइजर÷सह–सुपरभाइजर भई कम्तीमा ३ वटा शोधको सुपरिवेक्षण गरेको र पियर रिभ्यु जर्नलमा कम्तीमा पाँच वटा अनुसन्धानात्मक लेख प्रकाशन गरेको हुनुपर्नेछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले उजुरी परेको पुष्टि गरे । यस्तै गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङसँग यो विषयमा जानकारी लिन खोज्दा दुई दिनसम्म उनको फोन उठेन । विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सिनाले विश्वविद्यालय भरखरै स्थानपना भएकाले तत्कालै ऐन बमोजिम डीन नियुक्त गर्न नसक्ने रेडिमेड जवाफ दिए । ‘हामी भरखरै स्थापना भएका छौं ।

तपाईँले भनेझैँ प्राध्यापक वा सह प्राध्यापमक मध्येबाटै डीन हुनुपर्ने हो तर त्यसका लागि विश्वविद्यालयमा पनि त सो सरहको शिक्षक हुनुप¥यो । बल्ल संरचना बन्दैछ’ उनले भने, ‘पाँच संकायमा पाच डीन राख्नसक्ने स्थिति छैन् । सबैलाई सोही अनुसारको व्यवस्था गर्नुपर्छ त्यसका लागि विद्यार्थीहरु बढ्नुपर्छ यो पछि हुन्छ भन्नेमा आशावादी छौं ।’
विश्वविद्यालयले दिएको यो गैरजिम्मेवारी जवाफ हो । आंशिक शिक्षकलाई डीन नियुक्त गर्नुको पछाडी त्यहाँ आफन्तवाद भएको स्रोतको दाबी छ ।

पृथ्वीनारायण क्याम्पसका (पिएन) प्रमुख सरोज कोइरालाले आशिंक शिक्षक र प्राध्यापकमा धेरै फरक भएको बताए । उनले कपिल अधिकारी डीनहुनु अघि पिएन क्याम्पसका आंशिक शिक्षक भएको जानकारी दिए । ‘उहाँ पहिला आंशिक शिक्षक हुनुहुन्थ्यो । अहिले डीन हुन जानुभएको छ’ उनले भने ।

गण्डकी विश्वविद्यालयले हाल खेलकुद व्यवस्थापन (बिएसएम), सूचना प्रविधि (बिआईटी), फार्मेसी (बि.फार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अबफ ल (बिए.एलएल.बी) को कार्यक्रम संचालन गरिरहेको छ । (नेपाल समाचारपत्रबाट प्रकाशित)

प्रतिकृया दिनुहोस