Sunday, December 7News That Matters

“बागलुङको पहिरो त्रासदी: सुरक्षित ठानिएको घरमा ६ को मृत्यु, ४ बेपत्ता”

यो समाचार शेयर गर्नुहोस्

२२ साउन, पोखरा: बागलुङको बडीगाड गाउँपालिका-१० मा सुरक्षित भनेर शरण लिएकै घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको छ र ४ जना बेपत्ता भएका छन्। पहिरोमा परेर ९ जना घाइते भएका छन्। मृतकमा ७८ वर्षीय जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी र ६ महिनाकी सीता विक छन्।

त्यस्तै, ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा, र ११ वर्षीय सुमन विक बेपत्ता छन्। बिहानैदेखि परेको झरीका कारण आरुपाटाका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो, जसले गर्दा गाउँलेमा त्रास बढेको थियो।

पहिरोले गर्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको र जोगबहादुरको काठमाडौं पठाउने तयारीका क्रममा मृत्यु भएको हो। जोगबहादुरको घरमा २० जनाले शरण लिएका थिए। बिहान सवा ११ बजे सुरक्षित ठानेर बसेको त्यही घरमा पहिरो खसेको हो।

जोगबहादुरका छोरा तेजेन्द्रले दौडिएर ज्यान बचाएका छन् भने अर्का छोरा ज्ञानेन्द्र उद्धारमा खटिएका छन्। जोगबहादुरकी श्रीमती सामान्य घाइते भएकी छिन् भने बुहारी सामान्य घाइते बने पनि छोरी गुमाउँदा थामिन सकेकी छैनन्।

स्थानीय बोमबहादुर बुढाका अनुसार बुर्तिबाङ जाने भनेर हिँडेका मानिसहरु पनि पहिरोमा परेका छन्। पहिरोले २६ वर्षीय ओमप्रसाद पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते भएका छन्।

गम्भीर घाइतेलाई काठमाडौं लैजानका लागि हेलिकप्टर मगाइएको भए तापनि मौसमका कारण समस्या परेको छ। सिंगो गाउँ नै शोकमा डुबेको छ।

प्रतिकृया दिनुहोस