Tuesday, May 26News That Matters

पोखरामा ‘कोटिहोम चोक’ नामकरण, कोटिहोम महायज्ञको स्मृतिमा स्थानीयको पहल

यो समाचार शेयर गर्नुहोस्

पोखरा

ऐतिहासिक गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको स्थानलाई स्थानीयवासीले ‘कोटिहोम चोक’ नामकरण गरेका छन्। माछापुच्छ्रे टोल र पाल्पाली मार्गका नामले चिनिँदै आएको उक्त स्थान अबदेखि कोटिहोम चोकका रूपमा चिनिने भएको हो।

आज स्थानीयको सक्रियतामा बोर्डसहित कोटिहोम चोकको औपचारिक नामाकरण गरिएको हो। स्थानीय समाजसेवी शारदा पंगेनीका अनुसार, “हाम्रो पालोमा यस्तो दिव्य कोटिहोम महायज्ञको साक्षी हुन पाउनु भाग्यको कुरा हो। भावी पुस्ताले पनि यो ऐतिहासिक अवसरलाई सम्झन सकून् भन्ने हेतुले चोकको नाम कोटिहोमसँग जोडिएको हो।”

त्यस्तै, स्थानीय धनी प्रसाद ढकालले भने, “अहिले त हामीले सानो बोर्ड राखेका छौं, तर आगामी वर्ष कोटिहोम महायज्ञको स्मारकका रूपमा ठूलो प्रवेशद्वार निर्माण गर्ने योजना छ।”

स्थानीय बिनोद केसीले कोटिहोम चोक नामकरणले स्थान पहिचान गर्न सहज हुने र सांस्कृतिक सन्देश फैलाउने विश्वास व्यक्त गरे। उनका अनुसार, नयाँ आगन्तुकहरू लोकेसन बुझ्न गाह्रो हुने समस्या अब हट्नेछ।

यस चोकको औपचारिक अनावरण आगामी वैशाख ९ गते एकादशीका दिन गरिने कार्यक्रम तय गरिएको छ।

मानव सेवा फाउन्डेसन नेपाल लगायतको आयोजनामा सञ्चालन भइरहेको कोटिहोम महायज्ञमा प्रत्येक दिन भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। महायज्ञमार्फत धार्मिक चेतना, सामाजिक एकता र सांस्कृतिक स्मृति सुदृढ बनाउने प्रयास भइरहेको आयोजकहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस