Thursday, April 16News That Matters

पर्वतका उम्मेदवार तिमिल्सिनाले पत्रकार भेटघाटमार्फत विकास र जनअपेक्षाका योजना प्रस्तुत गरे

यो समाचार शेयर गर्नुहोस्


पोखरा । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले आफ्नो राजनीतिक दृष्टिकोण तथा पर्वत जिल्लाको विकाससम्बन्धी प्रतिबद्धताबारे प्रारम्भिक धारणा सार्वजनिक गरेका छन्।


पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उम्मेदवार तिमिल्सिनाले आफ्ना ‘प्रतिबद्धता’बारे धारणा राख्दै पर्वतको समग्र विकास, सुशासन, रोजगारी र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन्।

कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य सन्देश श्रेष्ठले पर्वतको विकासका आधारशिला तथा पूर्वाधार निर्माणमा तिमिल्सिनाले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै यस्ता उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।

अन्तरक्रियाका क्रममा राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय अनुभव राखेका व्यक्तित्व मनहरि तिमिल्सिनाले आफ्नो अनुभवबारे जानकारी गराए। तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजकको रुपमा उनले २०७४ सालमा दोश्रो पटक प्रधानमन्त्रीको नीति योजना र प्रेस व्यवस्थापन सम्बन्धी क्षेत्रमा काम गरेको, त्यस क्रममा १८ महिनासम्म विज्ञ सल्लाहकारको रूपमा छोटो समय भए पनि महत्वपूर्ण काम गरेको अनुभव सुनाए। कार्यक्रमको क्रममा उनले आफ्नो कार्यकाल र उपलब्धि समेट्दै व्यक्तिगत दृष्टिकोण र अनुभव पनि साझा गरे।

उम्मेदवार तिमिल्सिनाले विगत १५ महिनादेखि पर्वतमै बसेर निरन्तर छलफल र संवाद गर्दै आएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार र डिजिटल प्रविधिलाई शिक्षासँग जोड्ने ‘सार्वजनिक शिक्षा गुणस्तर सुधार’ प्याकेज तयार गरेको जानकारी दिए। पर्वतका ५० भन्दा बढी सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालासँग अन्तरक्रिया गरी प्राथमिक तथ्यांक संकलन गरिसकेको र टिमवर्क निर्माण भइसकेको उनको भनाइ छ।


स्वास्थ्य क्षेत्रतर्फ सरकारले सबै पालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने योजना ल्याए पनि व्यवहारिक चुनौती देखिएकाले वैकल्पिक रूपमा ‘मोबाइल डाक्टर सेवा’ सञ्चालन गर्न सकिने प्याकेज तयार गरेको उनले बताए। उक्त योजना अनुसन्धानमा आधारित रहेको उनको दाबी छ।
त्यस्तै, पर्वतमा बढ्दो बाँदर आतंक जिल्लाको गम्भीर समस्या भएको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि विज्ञहरूसँग छलफल गरी विशेष योजना तयार गरिसकेको जानकारी दिए। बसाइँसराइ रोकथामका लागि समेत विशेष कार्यक्रम ल्याउने तयारी रहेको उनले बताए।


तिमिल्सिनाले पर्वतमै आईसीटी हब स्थापना गर्ने आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै सो हब पीपीटी मोडेलमा सञ्चालन गरिने बताए। उक्त हबमार्फत हरेक वर्ष करिब ५०० युवालाई डिजिटल आम्दानीसम्बन्धी आवासीय तालिम दिइने, सामुदायिक विद्यालयका आईसीटी केन्द्रलाई प्राविधिक सहयोग, शिक्षक तालिम, स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन तथा मोबाइल डाक्टर सेवामा प्राविधिक सहयोग, र कृषिमा ड्रोन तथा आधुनिक प्रविधि प्रयोग गरिने योजना रहेको उनले स्पष्ट पारे।
परम्परागत विकास ढाँचालाई विस्थापित गर्दै समावेशी र दिगो विकासको अवधारणामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्ना एजेन्डा सोचमै सीमित नभई कार्यान्वयनयोग्य रहेको दाबी गरे।
अन्त्यमा तिमिल्सिनाले आगामी प्रतिनिधि सभा निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदाता तथा आम नागरिकलाई आग्रह गरेका छन्।

प्रकाश अधिकारी , पोखरा

प्रतिकृया दिनुहोस