
पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना हुने २०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता फागुन २ गते शनिबार पोखरामा आयोजना हुँदैछ।
२०५८ सालमा स्थापना भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले खेलकुद विकास, खेल संस्कृतिको प्रवर्द्धन र खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा म्याराथनलाई निरन्तरता दिँदै आएको छ। सिटी म्याराथनको अवधारणाअनुसार सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने लक्ष्य आयोजकको रहेको छ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा म्याराथनलाई वर्षको एक दिन सहरकै उत्सवका रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताए। “खेलाडीहरू घर–घर अगाडि पुग्दा स्थानीयवासीले घडा र कलश राखेर स्वागत गर्ने संस्कृति पोखरा म्याराथनको पहिचान बनेको छ,” उनले भने। साथै, ‘रन फर फन’ कार्यक्रममार्फत यो उत्सवलाई महोत्सवको रूपमा सफल गरौँ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ।
यस वर्ष म्याराथनमा १४ बाट बढाएर २१ वटा स्पर्धा समावेश गरिएका छन्। ४२.१९५ किमी पूर्ण म्याराथन, हाफ म्याराथन, १० किमी, ५ किमी दौड, भेट्रान्स, विद्यालयस्तरीय, कर्पोरेट तथा ‘रन फर फन’ विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा २१ स्पर्धाका ७६ विजेतालाई कुल १९ लाख ८९ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। पूर्ण म्याराथनतर्फ प्रथम हुनेले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै दौड पूरा गर्ने सबै खेलाडीलाई ३,७०० फिनिसर मेडल वितरण गरिनेछ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालकै प्रविधिमैत्री म्याराथन हो। म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था येआइयेम्यस मा दर्ता रहेको यस प्रतियोगितामा विगत तीन वर्षदेखि चिप टाइमिङ प्रविधि प्रयोग हुँदै आएको छ। चिप्सको प्रयोगबाट धावकहरूको दौड समय सेन्सर मेसिनमार्फत मापन हुने भएकाले निर्णायक प्रक्रिया पारदर्शी र विश्वसनीय बनेको छ, जसले स्वदेशी तथा विदेशी धावकहरूलाई थप उत्साह प्रदान गरेको आयोजकको भनाइ छ।
२०औँ संस्करणमा विभिन्न देशका धावकसहित ३,५०६ जना खेलाडी दर्ता भएका छन् भने ‘रन फर फन’सहित १० हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।
लक्ष्मी ग्रुपअन्तर्गत सफल डेरी मुख्य प्रायोजक रहेको प्रतियोगितामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीलगायतका निकायको सहयोग रहेको छ।
मञ्च स्थापनाको २५औँ वर्ष (रजत महोत्सव) अवसरमा ‘१२ महिना १२ कार्यक्रम’ सञ्चालन भइरहेको र पोखरामा दौड संस्कृतिको विकास गर्न मासिक दौड कार्यक्रम पनि हुँदै आएको सचिव महेश पौडेलले जानकारी दिए।
अन्त्यमा आयोजकले पोखरा म्याराथनलाई सफल बनाउन सम्पूर्ण पोखरेली, सञ्चारकर्मी र खेलप्रेमीलाई सहभागिता जनाई उत्सवलाई महोत्सवमा परिणत गर्न आग्रह गरेको छ।

