पोखरामा निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो।

तालिम समापन समारोहमा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको उल्लेख गर्दै यस अवधिमा पत्रकारहरूले अझ बढी संवेदनशील र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। उहाँले स्वच्छ, शान्त र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आम सञ्चारमाध्यमको भूमिकालाई ध्यानमा राख्दै तालिम आयोजना गरिएकोप्रति महासंघ कास्कीलाई धन्यवाद दिनुभयो।

तालिममा सहभागी पत्रकारहरू शिशिर पौडेल, खिम गुरुङ र तिलक पुनले आफ्ना अनुभव साझा गर्दै तालिमबाट निर्वाचन प्रक्रिया र जिम्मेवार रिपोर्टिङबारे उपयोगी ज्ञान प्राप्त भएको बताए। उनीहरूले सिकेका कुरालाई आगामी दिनमा कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता जनाए।

तालिममा नारायण ढकाल, केशवशरण लामिछाने, भरत कोइराला, गणेश पाण्डे तथा दिपक गिरीले आ–आफ्ना विषयमा प्रस्तुति दिनुभएको थियो।
महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने भन्दै सोही उद्देश्यका साथ तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले पत्रकारिता सधैं देश र जनताको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना पत्रकार सहभागी तालिममा निर्वाचनसम्बन्धी कानुन, प्रक्रिया, पत्रकार आचारसंहिता तथा निर्वाचन सुरक्षासम्बन्धी संवेदनशील विषयहरू समेटिएको महासंघ कास्कीका सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिनुभयो। अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गर्नुभएको थियो।

